विज्ञान प्रविधि

सगुनले फेरि खुलायो मिनी आइपिओ, ठूला लगानीकर्ता भित्र्याउने दावी

न्यूयोर्क

नेपालीको प्रवर्धनमा अमेरिकामा खुलेको कम्पनी सगुनले दोस्रो पटक मिनी आइपिओ जारी गर्ने अनुमति पाएको छ । प्रतिकित्ता ३० अमेरिकी डलरका दरले कम्तिमा ३० कित्ता शेयरमा लगानी गर्नुपर्ने नियम राखिएको छ ।

अहिले सर्वसाधारण लगानीकर्ताबाट पाँच लाख डलर हाराहारी लगानी जुटाउने लक्ष रहेको कम्पनीका प्रेसिडेन्ड गोविन्द गिरीले अनलाइन पत्रकार सम्मेलन मार्फत जानकारी दिए । आफ्नो कम्पनीमा ठूला लगानीकर्ता आकर्षित भइ रहेको कारण तत्काल यो रकम जुटाएपछि ठूला लगानीकर्ताको रकम भित्र्याउने उनको दावी छ । आइपिओमा लगानी गर्ने म्याद सेप्टेम्बर भरि मात्र रहेको छ ।

सगुनले तीन बर्ष अघि पनि मिनी आइपिओ जारी गरेको थियो । त्यसबेला मध्यपूर्व एवं दक्षिण कोरियामा कामका लागि गएका नेपालीहरुले ठूलो रकम लगानी गरेका थिए । नेपालबाट विदेशमा पैसा लैजान नपाइने कानूनी प्रावधानका कारण नेपालमै रहेका नेपालीले भने यो आइपिओमा लगानी गर्न पाउने छैनन् ।

अहिले कम्पनीको सामाजीक सञ्जाल एप सगुन सञ्चालनमा आइ सकेको छ । अमेरिका र दक्षिण एसियामा आफ्नो एप धेरै प्रयोग हुने कम्पनीको प्रक्षेपण छ । सन् २०२० को अन्त्यसम्ममा ८० लाख प्रयोगकर्ता पुर्याउने कम्पनीले जनाएको छ । भारतमा टिटटक लगायत चिनियाँ एप बन्द भएपछि सगुनका प्रयोगकर्ता बढेको पनि गिरीले दावी गरे । सन् २०२१ भरिमा दुई करोड ८० लाख प्रयोगकर्ता पुर्याउने र ७५ लाख डलर बराबरको आय समेत गर्ने लक्ष राखिएको छ ।

२०२१ भित्र कम्पनीलाई अमेरिकी शेयर बजारमा सूचीकृत गर्ने एवं २०२३ भित्र उच्च कोटीको न्यूयोर्क स्टक एक्सचेञ्ज या नास्डाकमै सूचिकरण गर्ने गिरीले पत्रकार सम्मेलनमा बताए । सन् २०१४ मा सुरु भएको कम्पनी सगुनले सामाजीक सञ्जाललाई सोसियल स्मार्ट कार्डसँग एकाकार गरेर प्रयोगकर्तालाई गुणात्मक लाभ दिने दावी गर्दै आएको छ ।