फिचर

ट्रम्पले नियतबश कोरोना भाइरसप्रति वेवास्ता गरेको तथ्य खुल्यो

गुगल फाईल फोटो

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियतबश कोरोना भाइरस नियन्त्रणमा वेवास्ता गरेको तथ्य उजागर भएको छ । सुरु देखिनै सार्वजनिक रुपमा भाइरसले खासै असर नपार्ने बताउँदै आएका ट्रम्पले फेब्रुअरी पहिलो सातानै भाइरसको गाम्भिर्य बुझि सकेको तथ्य सार्वजनिक भएको हो ।

उनले फेब्रुअरी ७ मै वासिंटनमा पोष्टका भेटरान पत्रकार बब उडवर्डसँग यो भाइरस छुँदा मात्र नभइ हावाबाट पनि सर्ने र बृद्ध एवं रोगी मात्र होइन युवालाई पनि गम्भीर असर पार्ने बताएको अडियो बुधबार सार्वजनिक भएको छ । पत्रकार उडवर्डले आफ्नो किताब रेजका लागि अन्तर्वार्ता लिँदा ट्रम्पले त्यसो भनेका थिए ।  ‘यो भाइरस सोचेजति सहज छैन, उनले अडियोमा भनेका छन्- यो सामान्य फ्लूभन्दा पाँच गुणा घातक छ । यो छुँदा मात्र होइन हावाबाट पनि सर्छ र यसले बृद्ध मात्र होइन र युवाहरुलाई पनि गम्भिर असर पुर्याउँछ ।’

उडवर्डसँग त्यसो भने पनि ट्रम्पले ‍फेब्रुअरी महिना भर भाइरस नियन्त्रणका लागि कुनै कदम चालेनन् । हावाबाट भाइरस सर्छ र निरोगी युवालाई पनि असर गर्छ भन्ने जान्दा जान्दै भिड बटुलेर चुनावी सभाहरु गर्दै हिँडे । अलि अलि देखिएको संक्रमण पनि केही दिनमै हराएर जाने दावी उनले निरन्तर गरे । अमेरिकामा भाइरस संक्रमण चर्को बन्ने लक्षण देखिएपछि बल्ल मार्च तेस्रो साता उनले सामाजीक दुरी सम्बन्धि नीति अख्तियार गरे । त्यही शिलशिलामा मार्च १९ मा उडवर्डसँगको अर्को अन्तर्वार्तामा ट्रम्पले आफुले जानाजान भाइरसले असर गर्दैन भन्ने अभिव्यक्ति दिएको बताएका छन् । जनतामा डर पैदा नहोस् भनेर भाइरसले असर नगर्ने अभिब्यक्ति दिएको र यो भनाइ निरन्तर दोहोर्याउने ट्रम्पले उक्त अडियोमा दावी गरेका छन् ।

उडवर्डलाई अन्तर्वार्ता दिएको त्यही समयमा सार्वजनिक रुपले भने ट्रम्पले कहिले गर्मी आएसँगै भाइरस हराउने त कहिले ब्लिज जस्ता सफाइका साधन शरिर भित्र पठाएर उपचार गर्न सकिने दावी गर्दै आएका थिए । आफुले भाइरसको गम्भिरता बुझ्ने वित्तिकै कदम चालेको उनको दावी रहँदै आएको थियो ।

ट्रम्पले एक साता अघि मात्र सामाजीक दूरी कायम सम्बन्धि नीति अख्तियार गरेको भए मृत्यु भएका ३६ हजार बढिको ज्यान जोगिने कोलम्बिया विश्वविद्यालयको अध्ययनले देखाएको थियो । उनले दुई साता अघि मात्र यो कदम चालेको भए ८४ प्रतिशत संक्रमण र त्यति नै मृत्यु कम हुन सक्ने अध्ययनले पुष्टि थियो ।

उनले भाइरसको जोखिम जान्दा जान्दै पनि आवश्यक कदम नचालेको तथ्यलाई अमेरिकी सञ्चारकर्मी एवं जनस्वास्थ्य विज्ञहरुले राष्ट्रिय सुरक्षा माथिकै वेवास्ताको संज्ञा दिएका छन् । पूर्व राष्ट्रपति रिचर्ड निक्सनको वाटरगेट काण्डबारे उडवर्डसँगै रिपोर्टिङ गरेका भेटरान पत्रकार कार्ल बर्नस्टेनले ट्रम्पको अहिलेको अडियो निक्सनको भन्दा खतरनाक रहेको उल्लेख गरेका छन् । डेमोक्रेटिक राष्ट्रपतिय प्रत्याशी जो बाइडेनले ट्रम्पले जानजान भाइरस संक्रमणप्रति वेवास्ता गर्नुलाई आपराधिक कदमको संज्ञा दिएका छन् । भाइरस नियन्त्रणको कदम चाल्दा सेयर बजार घट्न सक्ने र आफ्ना केही धनाड्य साथीले रकम गुमाउने डरले ट्रम्पले वेवास्ता गरेको आरोप समेत उनले लगाए ।

अमेरिकामा कोरोना भाइरस संक्रमण र मृत्यु दुबैमा विश्वको पहिलो स्थानमा छ । यहाँ ६५ लाख हाराहारी संक्रमित भइ सकेका छन् भने एक लाख ९० हजारले ज्यान गुमाइ सकेका छन् । भाइरसले कुनै असर नपाने ट्रम्प दावी पत्याएका कारण आफ्नो परिवारका सदस्यले ज्यान गुमाएको भन्दै कतिपय अमेरिकीले राष्ट्रपतिलाई आरोप समेत लगाएका छन् ।