समाचार

नेकपा भित्रको विवाद टुंगियो, स्थायी कमिटिमा लैजाने एजेण्डा तय

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी भित्रको विवाद अन्ततः टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी स्थायी कमिटीको बैठकमा लैजाने एजेण्डाका विषयमा समेत सहमति भएसँगै पार्टी भित्रको विवाद तत्कालका लागि टुंगिएको हो ।

बुधबार दुई नेताबीचको छलफलमा यस विषयमा सहमति भएको हो । बालुवाटारमा करिब २ घण्टा दुई अध्यक्षबीच छलफल भएको थियो । यसअघि अघिल्लो बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको थियो । त्यसपछि शनिबार बस्ने भनेको सचिवालय बैठक सरेको थियो ।

पार्टीले विवाद मिलाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरी सहमतिको प्रस्ताव तयार पारेको थियो । कार्यदलको प्रस्तावमा वरिष्ठ नेता माधवकुमार नेपालका केही असहमति थिए । ती असहमतिलाई दुई अध्यक्षले सम्बोधन गरेसँगै तत्कालका लागि विवाद मिलेको हो ।

अब प्रतिनिधिसभाको वर्तमान कार्यकालभर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउने छन् । पार्टीको अधिकार सम्पन्न अध्यक्ष भने प्रचण्ड बन्ने छन् ।

कार्यदलको प्रतिवेदनमा अध्यक्षद्वयको कार्यविभाजन, सरकार र पार्टी नेतृत्वको समीक्षा, भारसँगको सीमा विवाद, कोरोना भाइरस, अमेरिकी परियोजना एमसिसी, पार्टी एकताको बाँकी काम, एकता महाधिवेशनजस्ता विषय समेटिएको थियो ।

नेकपाको स्थायी कमिटी बैठक भने शुक्रबार बोलाइएको छ । यो बैठकले सहमतिलाई अनुमोदन गर्नेछ ।