फिचर

विद्यालयहरुले अनलाइन कक्षा संचालनको शूल्क लिन पाउने

काठमाडौं । अब निजी विद्यालयहरुले अनलाइन कक्षा संचालन गरेवापत शुल्क लिन पाउने भएका छन् । सरकारले यसका लागि कानूनी व्यवस्थाबाटै प्रावधान गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका छन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका ल्याउँदै मन्त्रालयले निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको दरमा शुल्क लिन सक्ने उल्लेख गरिएको छ ।

मन्त्रालयका अनुसार विद्यालयले प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम शूल्क लिन सक्ने भएका छन् । गत चैतबाट सबै प्रकारका शिक्षालय बन्द छन् । कोरोना महामारीको नियन्त्रणका लागि अपनाइएको यो उपायका कारण यो वर्ष पठनपाठन प्रभावित भएको छ ।

अर्कोतर्फ विद्यालयहरुले समेत आम्दानी गर्न नसकेपछि शिक्षकहरुलाई तलव खुवाउन सकेका छैनन् । यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो । अब विद्यालयले १ असारयताको अनलाइन कक्षाको शूल्क लिन सक्नेछन् ।