समाचार

परिमार्जनसहित एमसीसी अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं । असारको पहिलो सातादेखि सुरु भएको सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक शुक्रबार सकिएको छ ।

आन्तरिक विवादको कारण पटक पटक रोकिँदै आएको वैठक साढे दुई महिनापछि टुंगिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि नेकपाको आन्तरिक विवाद सुरु भएको थियो ।

शुक्रबार बसेको स्थायी कमिटी बैठक आजैबाट समाप्त भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । वैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दुर्घटनाबाट बचाउन सफल भएको र पार्टी कमजोर बनाउन खोज्ने देशी विदेश शक्तीलाई विफल बनाउन सफल भएको बताए ।

वैठकमा अध्यक्षको कार्यविभाजनको सन्दर्भमा प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको छ ।

सरकार पार्टीको मार्गनिर्देशनमा सञ्‍चालन हुने र दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने र महत्वपूर्ण निर्णयहरु लिँदा पार्टीका मार्गनिर्देशनलाई केन्द्रमा राखेर निर्णय गर्ने निर्णय भएको छ ।

यसरी राष्ट्रिय महत्वका निर्णयहरुमा सचिवालय र दुई अध्यक्षको परामर्शमा सरकारले निर्णय लिनेसमेत निर्णय भएको छ ।

त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको छ। बैठकले एमसीसी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘

एमसीसी केही संशोधन गरेर अनुमोदन गर्ने बैठकले निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने,‘ वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले दिएको सुझावका आधारमा कुन(कुन कुरा संशोधन गर्ने भन्ने निर्क्यौंल हुन्छ।’

यसअघि एमसीसी पारित गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र विवाद चर्किएपछि त्यसबारे अध्ययन गरेर सुझाव दिन नेकपाले खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्य भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले केही बुँदा संशोधन गरेरमात्रै एमसीसी पारित गर्न नेतृत्वलाई सुझाव दिएको थियो। अब कार्यदलको त्यही सुझावका आधारमा एमसीसी परिमार्जनसहित अनुमोदन गरिने छ।