स्वास्थ्य

नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?

काठमाडौं । काठमाडौं । सरकारले देशव्यापी लकडाउन खुला गरेको छ । विभिन्न जिल्लामा घोषित निषेधाज्ञा समेत क्रमशः खुकुलो बन्दै गएको छ । यसको मतलव अब कोरोनासँग नेपालीले पनि लिभिंग टुगेदरमै जानु पर्नेछ । त्यसो त नेपालको ग्रामिण भेग, पहडाी र हिमाली क्षेत्र अझै पनि कोरोना भाइरसको कम जोखिममा रहेको देखिएको छ ।

तर ठूला शहर भने अझै पनि जोखिममा छन् । पछिल्लो २४ घण्टामा देशभर देखिएको भाइरसको ग्राफले समेत त्यही बताउँछ । देशभर २४ घण्टामा कुल १२०१ जनाका कोरोना देखियो । त्यसमध्ये ३ सय ७७ जना काठमाडौैं जिल्लामा मात्र छन् ।

तथ्यांक अनुसार आज मकवानपुरमा समेत तेस्रो अंकमा संक्रमित देखिए । यहाँ १ सय ७ जनामा कोरोना पुष्टी भएको छ । चितवनमा मात्र ९२ जनामा कोरोना देखियो । यहाँ भरतपुर महानगरपालिकामा बढी संक्रमण देखिएको छ । रुपन्देही, नवलपरासी पूर्व र कास्की जिल्ला समेत आज बढी संक्रमित देखिने जिल्ला हुन् ।

यी तीन जिल्लामा क्रमशः ८१, ५१ र ३७ जनामा कोरोना देखियो । रुपन्देहीको बुटवल तथा कास्कीको पोखरा समेत कोरोना भाइरसको जोखिममा छन् । आज ललितपुरमा ३७ जनामा देखिँदा मोरंगमा मात्र ५८ जनामा कोरोना देखियो । यहाँ विराटनगरमा बढी संक्रमित रहेका छन् । केही अगाडी निकै जोखिम बढेको बारा र पर्सामा भने क्रमशः संक्रमणको दर कम भएको छ । आज यी दुई जिल्लामा क्रमशः १५ र १० जनामा मात्र कोरोना देखिएको छ ।

बाँकेमा ३२ जनामा कोरोना पुष्टी भएको छ । यहाँ नेपालगन्जमा बढी जोखिम रहेको छ । अन्य जिल्लामा भने तुलनात्मक रुपमा कम मात्र संक्रमण देखिएको छ । अहिले सोलुखुम्बु, मनांग, मुस्तांग, म्याग्दी, हुम्ला, मुगु र डोल्पा कोरोनाबाट मुक्त भइसकेका छन् ।

अधिक जोखिम भएका जिल्ला भने काठमाडौं, चितवन, ललितपुर, सुनसरी, सर्लाही र रुपन्देही हुन् । यी जिल्लामा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् ।