स्वास्थ्य

डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह

जुम्ला । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १९ औं सत्याग्रह जुम्लाबाट शुरु गरेका छन् । भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै डा. केसीले विभिन्न मागका साथ सत्याग्रह थालेका हुन् । केसीले सोमबारदेखि जुम्लाबाट अनसन शुरु गरेका छन् । उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रहमा छन् ।

आफुलाई जुम्लामा हिँडडुल गर्नदेखि उपचार गर्न जान समेत बारम्बार अवरोध हुँदै आएको गुनासो समेत उनले गरेका छन् । केसी केही समययता जुम्लाका ग्रामिण भेगमा औषधोपचार गर्दै हिँडेका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएसलगायतका कार्यक्रम राख्न माग गरेका छन् ।

गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरू गर्नु पर्ने समेत उनको माग छ । प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि उनले आफ्नो मागमा समेटेका छन् ।

उनले मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने समेत माग गरेका छन् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था हुनुपर्ने उनी बताउँछन् । २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधनको माग समेत डा. केसीले दोहोर्याएका छन् ।

उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न माग गरेका छन् । डा. केसीले राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानवि गरी कानुन बमोजिम कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।