फिचर

हिमाल चढ्न बहराइनका राजकुमारसहितको टोली नेपाल प्रस्थान

काठमाडौं । सरकारले बहराइनका राजकुमार सहित १८ जनाको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको छ । उनीहरु आरोहणका लागि मंगलबार नेपाल प्रस्थान गरेका छन् । उनीहरुले नेपालमा लोबुचे र मनास्लु हिमाल आरोहण गर्दैछन् । उनीहरु मंगलबार राति नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक आरोहण टोलीमा समावेश छन् । उनीहरु शेख ईशा एयरबेसको चार्टर्ड जहाज चढेर काठमाडौं उडेका हुन् । यो टोलीले नेपालमा २ महिना बिताउने छ । यस क्रममा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् ।

यो आरोहण आगामी सिजनमा सगरमाथा आरोहणको तयारीका रुपमा लिइएको समेत दूतावासले जनाएको छ । उनीहरुलाई मन्त्रिपरिषद्ले अनुमति दिएको हो । नेपालमा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड भने उनीहरुले पालना गर्नुपर्नेछ । यो टोली कोरोनापछि नेपाल आउने पहिलो विदेशी आरोही टोली हुनेछ ।