फिचर

आज जनकपुर आउँदै नेपाली रेल

काठमाडौं । नेपाल रेल्वेको नयाँ रेल आज जनकपुर आइपुग्ने भएको छ । नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर रुटमा चल्ने रेल बिहीवार साँझ जयनगरमा आइपुगेको थियो । जयनगरमै रोकिएको यो रेल शुक्रवार मध्यान्हसम्म जनकपुर स्टेशन ल्याइसक्ने योजना रहेको छ ।

नयाँ रेलको धेरैजसो डिब्बा प्लाष्टिकले छोपेर ल्याइएको छ । रेलको रंग भने नेपालको राष्ट्रिय झण्डा अंकित रंगले छोपिएको छ । जनकपुरमा रेलको भब्य स्वागत हुने भएको छ । सरकारले ८६ करोड मूल्यमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरेको हो । रेल शुक्रवार जनकपुर आएपनि व्यवसायिक संचालनमा भने तत्काल आउने छैन ।

मंसिरपछि मात्र औपचारिक संचालनमा ल्याउने गरी तयारी गरिएको छ । अहिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएको छ । रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा लामो समय बसेको थियो ।

रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेसँगै रेल शुक्रबार जनकपुर आउन लागेको हो । रेलको परीक्षण भएपछि रेल्वे विभागले बुझ्नेछ। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म यो रेल चल्नेछ ।

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइमा पूर्वाधार बनिसकेको छ । कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर कुल ५२ किलोमिटरमा रेल चलाउने तयारी भएको छ ।