मनोरञ्जन

सोमबारबाट चल्दैछन् आन्तरिक उडानका जहाज, के के छन् यात्रुका लागि नियम ?

काठमाडौं । ६ महिना लामो उडान प्रतिवन्धपछि सोमबारबाट नेपालमा आन्तरिक हवाई सेवाले उडान थाल्दैछन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

नेपालमा १० चैतबाट आन्तरिक उडान बन्द भएको हो । अब हवाई यात्रामा यात्रुले केही कठिनाई भोग्नु पर्नेछ भने समय पनि केही लामो हुनेछ । किनकी अब हवाई यात्राका दौरान सुरक्षा सतर्कता अझ कडा हुनेछ ।

विमानस्थल कार्यालयका अनुसार यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ। यसअघि एक घण्टा अगाडी नै विमानस्थल पुग्दा हुने व्यवस्था थियो ।

यस्ता छन् यात्रुले पालना गर्नुपर्ने नियम
· सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ ।
· विमानस्थल भित्र कम्तिमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।
· इ टिकेटबाट चेकइन गरिने भएको छ ।
· आफ्नो व्यागेजसँगै लैजान पाइने छैन, महिलाको हृयाण्डक्यारी र ल्यापटप ब्यागबाहेक अन्य ब्याग विमान भित्रै लैजान निषेध गरिएको छ ।
· सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
· विमानभित्र हिँडडुल गर्न निषेध गरिएको छ ।
· शौचालय विमानस्थलमै प्रयोग गरि जहाज चढ्नुपर्नेछ ।
· कोभिड १९ को लक्षण देखिएको यात्रुलाई हवाई यात्रुलाई निषेध गरिएको छ ।
· मास्क र फेससील यात्रुले यात्रा अवधिभर लगाउनु पर्नेछ ।

विमान र कर्मचारीले कस्तो नियम पालना गर्नुपर्छ ?
· र्‍याम्प बसमा यात्रुलाई सामाजिक दूरी कायम गराई बसाउनु पर्नेछ ।
· ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान तथा अन्य सवारी साधन हरेक पटक प्रयोगपछि स्यानिटाइज गर्नु पर्नेछ ।
· पटक पटक प्रयोगमा आइरहने ढोकाका हृयाडल तथा स्ट्याण्डहरु पटक पटक स्यानिटाइज गर्नुपर्छ ।
· यात्रुलाई विमानभित्र र बाहिर लैजाँदा एक पटकमा चार जनालाई मात्र लैजानु पर्छ ।
· यात्रुहरुलाई फेससील वितरण गर्नुपर्नेछ ।
· हरेक उडानपछि विमानस्थललाई सरसफाई गर्नुपर्छ ।
· सबै कर्मचारीले अनिवार्य मास्क लगाई यात्रुसँग सामाजिक दूरी कायम गरी सेवा दिनु पर्नेछ ।
· हरेक कर्मचारीको दैनिक कार्यालय प्रवेशसँगै तापक्रम नाप गरिने भएको छ ।
· हरेक कर्मचारीलाई सुरक्षित सेवा सम्बन्धमा नियमित तालीम तथा आवश्यक सुरक्षा सामग्री प्रदान गरिने भएको छ ।