फिचर

कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४ पुगेको छ । पछिल्लो एक सातामा थप एक जनाको ज्यान गएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १७ मुलुकमा नेपालीको मृत्यु भएको छ ।

यससँगै नेपालसहित कोरोनाका कारण विश्वभर कुल ६४५ नेपालीको ज्यान गएको तथ्यांकले देखाएको छ । संघका अनुसार अघिल्लो साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर केही बढेको छ । समितिका संयोजक सञ्जीव सापकोटाले दिएको जानकारी अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित देखिएका छन् ।

कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् ।

विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ । संघ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको तथ्यांक रहेको छ ।