फिचर

ट्रम्प उदयसँगै अमेरिकाको अन्तर्राष्ट्रिय छवि रसातलमा

न्यूयोर्क

राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको उदयसँगै अन्तराष्ट्रिय जगतमा अमेरिकी छवि निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान संस्था प्यु रिसर्चको पछिल्लो सर्भेक्षण अनुसार मित्र देशका जनताबीच नै अमेरिकी छवि तिब्र ओरालो लागेको पाइएको हो ।

अमेरिकाका निकट मित्र राष्ट्रहरु जापान र बेलायतका जनतामध्ये ४१ /४१ प्रतिशतले मात्र अहिलेको अमेरिकाप्रति आफ्नो सकारात्मक धारणा रहेको प्रतिकृया दिएका छन् । सन् २००० यी देशका क्रमशः ७७ र ८३ प्रतिशत जनता अमेरिकाप्रति सकारात्मक धारणा राख्थे । ट्रम्प निर्वाचित भएपछि यी देशमा अमेरिकाप्रतिको धारणा तीब्र नकारात्मक भएको अध्ययनले पुष्टि गरेको छ ।

फ्रान्स र जर्मनीमा अमेरिका प्रति सकारात्मक धारणा राख्ने नागरिक क्रमशः ३१ र २६ प्रतिशत मात्र छ । दुई दशक अघि यो संख्या ६२ र ७८ प्रतिशत थियो । छिमेकी क्यानडा र टाढाको अष्ट्रेलियामा अमेरिकालाई हेर्ने दृष्टिकोण क्रमशः ३५ र ३३ प्रतिशत नागरिकको मात्र राम्रो छ । सन् २००० मा अमेरिकाप्रति यी देशका क्रमशः ७२ र ५९ प्रतिशत नागरिकले सकारात्मक धारणा राख्थे । दक्षिण कोरिया जनतामध्ये अझैपनि ५९ प्रतिशतले अमेरिकाप्रति सकारात्मक धारणा रहेको बताएका छन् । तर, राष्ट्रपति ट्रम्पप्रति भरोसा रहेको बताउने भने १७ प्रतिशत मात्र छन् ।

सर्भे गरिएका १३ देशमा अमेरिकाप्रतिको धारणा र ट्रम्पप्रतिको भरोसा, स्रोत प्यु रिसर्च

कोरिया बाहेक छवटै देशमा अमेरिकाप्रति त्यहाँका नागरिकले हेर्ने दृष्टिकोण यति बिघ्न नकारात्मक यसअघि कहिल्यै नभएको प्यु रिसर्चले जनाएको छ । सन् २००० सेप्टेम्बर ११ को आतंककारी हमलापछि इराक र अफगानिस्थानमा सुरु गरेको युद्धसँगै मित्र राष्ट्रका जनतामा अमेरिकाप्रतिको नकारात्मक धारण केही हदसम्म बढेको थियो । तर, बाराक ओबामा राष्ट्रपति निर्वाचित भएर युद्ध विरोधी नीति अवलम्बन गरेसँगै अमेरिकाले गुमाएको विश्वास फर्कन थाल्यो । तर, ट्रम्प उदयले त्यसलाई फेरि रसातलमा पुर्याइ दिएको छ ।

ट्रम्पले अमेरिकाका पुराना मित्रराष्ट्रहरुलाई निरन्तर चिढ्याउने गतिविधी गर्दै आएका छन् । मित्रराष्ट्रहरु भन्दा लामो समय प्रतिश्पर्धीको रुपमा रहेको रसिया लगायतसँग उनको बढि लगाव देखिएपछि उनी सहित अमेरिकाप्रति नकारात्मक धारण बढेको हो ।

कोरोना भाइरस नियन्त्रणबारे मित्र देशका जनताको धारणा, स्रोत प्यु रिसर्च

मित्र राष्ट्रका जनताले अमेरिकाले कोरोना भाइरस नियन्त्रणमा चालेको कदमप्रति सबैभन्दा धेरै अविश्वास देखाएका छन् । १३ देशमा गरिएको अनुसन्धान अनुसार औषत १५ प्रतिशतले मात्र अमेरिकी कदमको समर्थन गरेका छन् । सबैभन्दा कम दक्षिण कोरियाका जनतामध्ये छ प्रतिशत मात्र अमेरिकी कदमको समर्थन गरेका छन् । अमेरिकासँग एकै समय कोरोना भाइरस देखिएको कोरियाले संक्रमण नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको छ । आफ्नो सरकारको कदमप्रति भने त्यहाँका ८६ प्रतिशत जनताले समर्थन गरेका छन् । विश्व स्वास्थ्य संगठन, युरोपेली युनियन र चीनको कदमप्रति पनि कोरियाली जनतामध्ये क्रमशः १९,१९ र २० प्रतिशतले मात्र समर्थन गरेका छन् ।  

सर्भेक्षण गरिएका १३ मुलुकका जनतामध्ये कोरोना भाइरस नियन्त्रणमा अमेरिकी कदमको समर्थन सबैभन्दा धेरै स्पेनिशहरुले गरेका छन् । स्पेनका २० प्रतिशत जनताले अमेरिकी कदमको सह्राना गरेका हुन् । इटालीका १८ प्रतिशत एवं क्यानडा र बेलायतका १६ /१६ प्रतिशतले जनताले मात्र कोरोना भाइरसप्रति अमेरिकी कदमलाई पास नम्बर दिएका छन् ।