मनोरञ्जन

यति एयरले ल्यायो आकर्षक भ्रमण प्याकेज, अब एभरेष्ट १४ हजारमै

काठमाडौं । निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तब्य भ्रमणका लागि आकर्षक प्याकेज ल्याएको छ । करिब डेढ दर्जन पर्यटकीय प्याकेज ल्याउँदै यतिले आन्तरिक पर्यटकलाई भ्रमणप्रति प्रोत्साहित गर्ने नीति लिएको हो । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको छ ।


कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालले प्याकेज सार्वजनिक गरेका हुन् । नेपालमा ७ महिना लामो प्रतिवन्धपछि घुमघाम खुला भएको छ । सोही अनुसार सोमबारबाट हवाई यात्रा समेत सुचारु भएको छ । यतिले भनेको छ, ‘अब एयरलाइन्सले यात्रुलाई गन्तब्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन् । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अक्टोवर २०२० बाट यी प्याकेज लागु हुने भएका छन् ।

यतिले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागि समेत दुईतर्फी टिकटसहितका प्याकेज ल्याएको हो । यी गन्तब्यमा होटेलको स्तर अनुसार मूल्य राखिएको छ । प्याकेज घोषित गन्तव्यको सबैभन्दा नजिकको विमानस्थलसम्म यति र तारा एयरबाट हवाई यात्रा गराइने भएको छ ।

यतिले एभरेष्ट ट्रेल १३,९९९ प्रतिव्यक्तिमै घुमाउने भएको छ । रारामा २४९९९ प्रतिव्यक्ति, पोखरामा ५९९९ देखि ७९९९ प्रतिव्यक्ति, चितवनमा १२९९९ देखि १६९९९ प्रतिव्यक्तिसम्मका प्याकेज यतिले ल्याएको छ ।

उता, यतिले अब टिकट समेत एप्सबाट काट्न सकिने गरी एप्स सार्वजनिक गरेको छ । अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ ।