समाचार

राप्रपाको चुनाव चिन्ह हलो नै राख्ने सहमति

काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह अब हलो नै हुने भएको छ । छ महिनाअघि एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटाएको हो । एकीकरण हुनुअघि राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटाएको हो ।

यसअघि हलो साविक राप्रपा संयुक्तको चुनाव चिन्ह रहेको थियो । कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको छ ।

यससँगै अब हलोमा सहमति जुटेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान समेत राखेका थिए ।

चुनाव चिह्नबारे औपचारिक निर्णय मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकबाट हुनेछ । उक्त बैठकमा एकता महाधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने विषयमा पनि सहमति जुटेको छ । दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर मंगलबार नै दल दर्ताका लागि राप्रापा निर्वाचन आयोग जाने भएको छ ।