विज्ञान प्रविधि

केरुङ–काठमाडौं रेलमार्ग : चीनतर्फ भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न

काठमाडौं । केरुङ–काठमाडौं जोड्ने रेल्वे आयोजनाको चीनको भूभागमा पर्ने क्षेत्रमा भौगर्भिक सर्भेको प्रारम्भिक अध्ययन सम्पन्न भएको छ । अध्ययन टोलीले स्थलगत रुपमा गरेको अध्ययन पुरा भएको चिनियाँ संचारमाध्यमले जनाएका छन् । यो अध्ययनको निष्कर्ष के आयो भन्ने बारेमा भने खुलाइएको छैन । रेल मार्ग निर्माणको यो प्रारम्भिक अध्ययन मात्र हो । यसमा थप अध्ययन आवश्यक रहेको चिनियाँ पक्षले जनाएको छ ।

चिनियाँ सरकारी संचारमाध्यममा यसबाट पुष्टी गरिएको छ । समाचार अनुसार अग्ला हिमालहरु छिचोल्नुपर्ने भएकाले केरुङ–काठमाडौं रेल परियोजना एक कठिन परियोजना हुनेछ । अघिल्लो असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा सीमा वारपार रेलमार्गको सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सो सहमतिको कार्यान्वयन अगाडी बढाउन काठमाडौंमा भएको नेपाल र चिनियाँ अधिकारीहरुको बैठकले सम्भाव्यता अध्ययनको काम बाडेको थियो । त्यसअनुसार चीनले आफ्नो खर्चमा म्यापिङ सर्वे, भौगर्भिक अध्ययनसहित विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ भने नेपालले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)का साथै चिनियाँ टोलीलाई सुरक्षालगायतका सहयोग उपलब्ध गराउने सहमति भएको थियो ।

यो आयोजना नेपालले अनुदानमा बनाइदिन चीनलाई अनुरोध गरिरहेको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रुपैयाँ लागत लाग्छ । करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुनेछन् ।