विश्व

यूएनमा प्रधानमन्त्रीको संबोधन : शान्ती स्थापनामा राष्ट्र संघको भूमिका महत्वपूर्ण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै यो संस्था विश्वमा शान्ती स्थापनार्थ महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा सोमबार राति न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकलाई पूर्वअभिलेखित ‘भिडियो’मार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले खासगरी कम विकसित मुलुकको हितमा अझ बढी राष्ट्रसंघबाट अपेक्षा रहने उल्लेख गरे ।

उनले राष्ट्र संघ यतिबेला निरन्तरता र रूपान्तरणको दोसाँधमा रहेको समेत उल्लेख गरेका छन् । विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको समेत उनको भनाई छ ।

राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सव शान्ति, समृद्धि र न्यायका निम्ति सामूहिक प्रतिबद्ध व्यक्त गर्ने अवसर भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । शान्ति–सुरक्षा, विकास र मानवअधिकारका क्षेत्रमा नेपाल र राष्ट्रसङ्घबीच बढ्दो साझेदारीप्रति सन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त संस्थाको शान्ति स्थापनाका कार्यमा छ दशकभन्दा बढी समयदेखि नेपालले व्यावसायिक एवं समर्पित सेवा उपलब्ध गराउँदै आएको बताए।

कमजोर देश र तिनका जनताको रक्षा, सार्वभौम समानता र सबैको मानमर्यादाको प्रवद्र्धन, महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न सङ्कट, आतङ्कवादको अन्त्य, आणविक, रासायनिक, जैविकलगायत आम विनाशका सबै हातहतियारको उन्मूलनमा राष्ट्रसङ्घको विशेष भूमिकाको अपेक्षा विश्वले गरेको प्रधानमन्त्रीको भनाई छ ।

‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ : बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि’ विषयमा आयोजित उक्त बैठकको प्रारम्भमा राष्ट्रसङ्घको ७५औँ वार्षिकोत्सवसम्बन्धी घोषणापत्र अनुमोदन गरिएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जानकारी गराएको छ ।

वार्षिकोत्सवको उक्त कार्यक्रमलाई ८८ देशका राष्ट्राध्यक्ष र ४४ मुलुकका सरकार प्रमुखसहित १८२ वक्ताले सम्बोधन गर्नेछन् ।