समाचार

उपत्यकामा दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपन निवासी ४५ वर्षिय शंकर पन्तको मृत्यु भएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति ज्यान गएको हो । सोही बसको ठक्करबाट घाइते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार जारी छ । दुर्घटनापछि बसका चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ । उता, भक्तपुरको सूर्यविनायक नगरपालिका ५ को घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा रामेछापका २० वर्षका अनिश श्रेष्ठको ज्यान गएको छ ।

प्रहरीका अनुसार मंगलबार बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा गम्भीर घाइते उनको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल दुर्घटना भएपछि बचाउन जाने क्रममा भे ६ प ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिएको थियो ।

उक्त मोटरसाइकलमा सवार इलामका २१ वर्षका उज्वल राई र २३ वर्षका सुजल गहतराज घाइते रहेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।