विज्ञान प्रविधि

कुलमानको बर्हिगमनसँगै विजुली जाने क्रम बढ्यो, मन्त्रालयलाई तनाव

file

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्हिगमन भएको छ । सँगै नेपालमा विजुलीको आपूर्ति समेत अनियमित बनिरहेको छ । यसै त कुलमानको पुननियुक्ति माग गरिरहेक जनता सरकारप्रति रुष्ट छन् । त्यसमाथि पुनः विजुली जाने क्रम बढेसँगै उर्जा मन्त्रालयलाई भने तनाव थपिदिएको छ ।

सोहीकारण उर्जा मन्त्री वर्षमान पुनःले बिहीबार मन्त्रालयमा प्राधिकरणका अधिकारीहरुसँग आकष्मिक बैठक राखेका छन् । कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङका कारण ६ दिनको होम आइसोलेसन पुरा गरी मन्त्री पुनः आज मन्त्रालयमा हाजिर भएका थिए ।

हाजिर भएकै दिन उनले मन्त्रालयमा प्राधिकरणका अधिकारीलाई निमन्त्रणा गरे । उनले विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गरी गुनासो व्यवस्थापन गर्न प्राधिकरणलाई निर्देशन दिएका छन् ।

मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकलाई नै मन्त्रालयमा डाकेका थिए । उनले आलोचनालाई कामबाट जवाफ दिन समेत आग्रह गरे ।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी गराउन समेत निर्देशन दिएको उर्जा मन्त्रालयले जनाएको छ ।

मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकबिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा बताएको छन् ।

मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएको विषय भएको भन्दै त्यस्तो संवेदनशील निकायमा एक मिनेटको पनि ठूलो महत्व हुने उनले बताए । कोभिड१९ को महामारी न्यूनिकरणका उपाय अनुसार विद्यालय बन्द छन् ।

सोहीकारण अहिले अनलाइन कक्षाबाट पठनपाठन भइरहेको छ । विद्युती आपूर्तिमा हुने अनियमितताले उनीहरुको पठाईमा समेत असर पुग्ने मन्त्री पुनको भनाई छ ।