अमेरिका

अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स

न्युयोर्क       

सेनेटर बर्नी स्यान्डर्सले आसन्न नोभेम्बरको अमेरिकी निर्वाचन डोनाल्ड ट्रम्प र जो बाईडेन बीचको प्रतिस्पर्धा नभएर यो तानाशाह र प्रजातन्त्र बीचको भएको बताएका छन् । राष्ट्रपति दौडबाट बहिरिएपछि पहिलो पटक  सेनेटर स्यान्डर्सले जर्ज वासिङ्टन युनिभर्सिटीमा बिहिबार सशरीर उपस्थित भई सम्बोधन गर्दै अमेरिकाका सम्पूर्ण राजनीतिक दलहरु एक भएर राष्ट्रपति ट्रम्पबाट खतरामा परेको अमेरिकाको प्रजातन्त्रको रक्षा गर्नु पर्ने समय आएको बताएका छन् ।  

राष्ट्रपति ट्रम्पका मित्र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तो गर्ने सोचेका होला वा अन्य कुनै देशमा त्यस्तो सम्भव होला तर यो अमेरिका हो, यहाँ जबरजस्ति सत्तामा बस्न सम्भव नै छैन

बिहिबार स्यान्डर्सले वासिङ्टन डिसिबाट भनेका छन्; “यो निर्वाचन फगत डोनाल्ड ट्रम्प र जो बाईडेन बीचको निर्वाचन होईन । यो निर्वाचन डोनाल्ड ट्रम्प र प्रजातन्त्र बीचको निर्वाचन हो । त्यसैले प्रजातन्त्रको बिजय हुनु पर्दछ”। बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट हाऊसस्थित पत्रकार सम्मेलनमा ‘यदि आफु चुनावमा पराजित भएको खण्डमा शान्तिपूर्ण तरिकाबाट शक्ति हस्तान्तरण गर्छु’ नभन्नुलाई अमेरिकी जनताले गम्भिर रुपमा लिनु पर्ने समेत स्यान्डर्सले बताएका छन् ।  बुधबारको पत्रकार सम्मेलनमा ट्रम्पले ‘निर्वाचनमा पराजित भएको अवस्थामा शान्तिपूर्ण तरिकाबाट शक्ति हस्तान्तरण गर्छु’ भनि नभन्नु खेदपूर्ण मानेका छन् । “राष्ट्रपति ट्रम्पका मित्र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले जस्तो गर्ने सोचेका होला वा अन्य कुनै देशमा त्यस्तो सम्भव होला तर यो अमेरिका हो, यहाँ जबरजस्ति सत्तामा बस्न सम्भव नै छैन” स्यान्डर्सले बताएका छन् ।  

स्यान्डर्सले राष्ट्रपति ट्रम्पलाई चेतावनि दिदै भने; “तिमी जति सुकै धनि हौ वा शक्तिशाली किन नहोस् त्यस्को कुनै मतलब छैन । तिमी अहंकारी र आत्ममोहित हुन सक्छौ । त्यो पनि मतलब भएन । तिमीले जे चाह्यो त्यही गर्न सक्छौ भन्ने सोच्छौ होला, त्यो पनि मतलब भएन तर एउटा कुरा प्रष्ट पार्छु ‘यो देशको प्रजातन्त्रको लागि धेरैले लडेका छन् तिमीले यो प्रजातन्त्रलाई नष्ट गर्न पाउँदैनौ”।