समाचार

अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो, १७ घर बगे

प्रतिकात्मक तस्वीर

सन्धीखर्क । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा भीषण पहिरो गएको छ । पहिरोले १७ वटा घर बगाएको छ । दिउँसोको समयमा आएको पहिरोका कारण मानवीय क्षतिको भने कुनै खबर प्राप्त नभएको प्रहरीले जनाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने स्थानमा पहिरोेले १७ वटा घर बगाएको बताइएको छ ।

पछिल्लो तीन दिनयता निरन्तर वर्षा भएको थियो । अविरल वर्षापछि शुक्रबार दिउँसो पहिरो गएको हो । भिरालो जग्गामा रहेको वस्तीका १७ घर, गोठ, कुखुरा फार्म भने बगेका छन् । यसले ठूलो भौतिक क्षति भएको छ । नगद, जिन्सी, अन्नपात, पशु चौपाया समेत बगाएको गाउँलेले जानकारी दिएका छन् ।

गाउँमा पहिरो गएसँगै ३५ परिवारलाई भने सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले विस्थापित परिवारलाई बसोबासको व्यवस्थापनमा सहयोग गरेका छन् । यो घटनाका थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।