स्वास्थ्य

डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको खोप बजारमा आउनुअघि नै थप १० लाख मानिसको ज्यान जाने चेतावनी दिएको छ । खोप पत्ता लाग्नु अगाडी विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी डब्लूएचओले दिएको हो । अहिले १० लाख मानिसको ज्यान गइसकेको छ ।

डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले यस्तो चेतावनी दिए । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाई छ । सन् २०१९ को डिसेम्बर अन्त्यमा चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको हो ।

त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएकाको संख्या तीन करोड २० लाखभन्दा माथि पुगिसकेको छ ।

डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताए । त्यसका लागि सबै देशका सरकारहरुले कोरोना नियन्त्रणका लागि सम्भव भएसम्मका सबै उपाय कडाइका साथ अपनाउनुपर्ने उनको भनाई छ ।