समाचार

रुपन्देहीमा बाढी- ७ घर बगे, ५० घर डुबानमा

File

बुटवल । रुपन्देहीमा रोहिणी नदी, सुखौरा खोला र तिनाउ नदीमा बढेको पानीको बहावले घरहरु डुबानमा परेका छन् । रातभर अविरल वर्षा भएपछि त्यसले बाढी निम्त्याएको हो । बाढीमा बस्तीमा पसेपछि ७ वटा घर बगेका छन् । ५० वटा घर भने डुवानमा परेको स्थानीय प्रहरीले जनाएको छ ।

तिलोत्तमा नगरपालिका भित्रै विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको हो । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका, लक्ष्मीनगर डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन समेत बगाएको छ ।

उता, तिनाउ नदीको बाढीले बुटवल उपमहानगरपालिकाको वडा नं. १७ रानीगन्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले घरहरुमा क्षति पु¥याएको छ ।

उता, रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । रोहिणी नदी र सुखौरा खोलाको बीचमा रहेको उक्त बस्तीका बासिन्दा रातभर थुनिएका र बिहान भएपछि सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।

सुखौरा खोलाको बाढीले सुखौरा खोला पुल नजिक विद्युत पोल ढालेको छ । यसले विद्युत आपूर्ति समेत बन्द भएको छ । तिलोत्तमा–११ गणेशनगर क्षेत्रमा नदी तटीय क्षेत्र कटान भइरहेको छ । उता, देवदहको भलुहीमा ५ वटा घर डुबानमा परेको विवरण आएको छ ।