फिचर

तीन दिन देखि खुलेन सिद्धार्थ राजमार्ग, पहाडी भेगको यातायात ठप्प

File

बुटवल । सिद्धार्थ राजमार्ग पछिल्लो तीन दिनयता बन्द छ । जसले गर्दा मध्य नेपालको पहाडी भेगमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । अविरल वर्षापछि विभिन्न स्थानमा झरेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध छ । यसमा खासगरी सिद्धबाबाको पहिरोले ठूलो जोखिम निम्त्याउँछ ।

शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएको र यात्रु अलपत्र परेको प्रहरीले जनाएको छ । पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडकखण्डअन्तर्गत आधा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ।

शनिबार दिनभर स्काभेटर र डोजर प्रयोग गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालनको प्रयास भएको थियो । तर, सफलता प्राप्त भएन । किनकी सिद्धबाबामा सानो झरीले पनि ठूलो पहिरो निम्त्याउने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोसँगै झरेका ठूला ढुंगा फोर्नुपर्ने भएकाले समय लागिरहेको हो । सिद्धबाबामा ठूलाठूला चट्टानसहित सडकमाथिबाट पहिरो खसेको छ। सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ । आइतबार बिहानैबाट पहिरो पन्छाउने काम शुरु भइसकेको छ ।