समाचार

चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघलाई निकुन्जले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रबाट बाघलाई शनिबार साँझ नियन्त्रणमा लिइएको हो । यो बाघले शनिबार बिहान वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई आक्रमण गरी मारेको थियो ।

त्यसपछि पनि बाघले शवलाई छाडेको थिएन । यो बाघले यसअघि पनि मान्छेलाई मारिसकेको र थप मानवीय क्षति नहोस भनी निकुन्जले बाघ नियन्त्रणमा लिएको बताइएको छ । निकुञ्जले दिएको जानकारी अनुसार आक्रमण गर्ने बाघ अन्दाजी १० वर्षको भाले बाघ हो ।

उसलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको हो । निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको छ ।

औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनाएपछि मुख्य कार्यालय कसरामा लगिएको छ । यो बाघलाई कसराको खोरमा राखिएको छ ।