फिचर

अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०

न्यूयोर्क

आफुलाई ‘सेल्फमेड बिलेनियर (स्वनिर्मित अर्बपति)’ दावी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको बर्ष ७५० डलर मात्र आयकर तिरेको खुलासा न्यूयोर्क टाइम्सले गरेको छ । टाइम्सले आइतबार साँझ प्रकाशित गरेको सनसनीखेज रिपोर्ट अनुसार पछिल्ला १५ बर्षमा १० बर्ष उनले कुनै कर तिरेका छैनन् ।

ट्रम्पले लामो समय देखि आफ्नो आयकर विवरण (ट्याक्स रिटर्न्स) सार्वजनिक गर्न अटेर गर्दै आएका छन् । अमेरिकी राष्ट्रपतिका उम्मेद्वारले कर विवरण सार्वजनिक गरेर आफ्नो आर्थिक पारदर्शिता देखाउने चलन उनले तोडेका थिए । आफ्नो कर विवरण माथि आयकर विभागको अडिट चलि रहेको र सक्ने वित्तिकै सार्वजनिक गर्ने उनको दावी रहँदै आएको छ ।

तर, टाइम्सको खोजले ट्रम्पको दावी बहाना मात्र भएको सिद्ध गरिदिएको छ । वित्तिय विवरणहरुमा सर्वसाधारणलाई करौडौँ डलर नाफा कमाएको देखाउने ट्रम्पले सरकारलाई बुझाउने कागजातमा भने लगातार घाटा देखाएर कर छलि गर्दै आएको टाइम्सले खुलासा गरेको हो । त्यही क्रममा सन् २०१६ र २०१७ मा उनले ७५० अमेरिकी डलरको दरले मात्र कर तिरेको पाइएको हो ।

नाफा देखाएर तिर्नु त होइन चरम घाटा भएको भन्दै उनले आयकर विभागसँग सात करोड २९ लाख अमेरिकी डलर फिर्ता लिन लामो गलफति गरेका थिए । दशक लामो अडिट एवं तानातान पछि घाटा देखाएर उनी त्यो रकम फिर्ता लिन सफल भए । उनले बाहिर प्रचार गरेझैँ नाफाको अवस्था रहेको भए उल्टो १० करोड डलर बढि तिर्नुपर्ने हुने थियो ।

टाइम्सका अनुसार ट्रम्पले अमेरिकी जनता र आयकर विभागबीच देखाउने आफ्नो तस्वीरमा आकाश जमिनको फरक छ । उनी जनतामाझ अत्यन्त सफल, धनाड्य एवं ‘स्मार्ट’ नेताको रुपमा चिनिन चाहन्छन् । तर, आयकर विभाग सामु भने करौडौँ डलर घाटा खाएको एवं ऋण बोकेको ब्यापारीको रुपमा प्रस्तुत हुँदै आएका छन् । कर, छल्नकै लागि उनले छोरी इभान्कालाई आफ्नो कम्पनीमा परामर्शदाताको रुपमा भुक्तानी गरेका छन् भने आफ्नो कपाल बनाउने खर्च मात्र ७५ हजार डलर लागेको देखाएका छन् ।

उनले पैसा आर्जनका लागि कैयन् स्वार्थ बाझिने काम गरेको तथ्य समेत टाइम्सले उजागर गरेको छ । टाइम्सले ट्रम्पको राष्ट्रपतिय कार्यकाल अन्तर्गत अघिल्लो दुई बर्ष सहित दुई दशक बढिको कर विवरण फेला पारेको हो । सन् २०१८ र २०१९ को विवरणमा आधारित समाचार भने पछि प्रकाशित गर्ने टाइम्सले जनाएको छ ।

अमेरिकामा अर्बौँ डलरको ब्यापार गरेपनि ट्रम्पले यहाँभन्दा बाहिरका सरकारलाई धेरै कर तिरेको पाइएको छ । सन् २०१७ मा अमेरिकी सरकारलाई ७५० डलर तिरेका ट्रम्प र उनका कम्पनीले पनामामा १५ हजार ५९८ डलर तिरेका थिए । त्यही बर्ष भारतमा एक लाख ४५ हजार डलर र फिलिपिन्समा एक लाख ५६ हजार डलर कर भुक्तानी उनी एवं उनका कम्पनीले गरेको टाइम्सले उजागर गरेको छ ।

ट्रम्पले सन् २०१४ मै आफु कुनै दिन राष्ट्रपतिका लागि प्रत्याशी भएमा कर विवरण सार्वजनिक गर्ने बताएका थिए । तर, २०१६ को क्याम्पेन अवधिभर उनले अडिटको बहाना बनाएरै टारे । उनले कर छली एवं पूँजी पलायन गरेको आशंका सहित न्यूयोर्क राज्य सरकारले अनुसन्धान समेत थालेको छ । न्यूयोर्क सरकारलाई आफ्नो विवरण दिन अस्वीकार गरेका ट्रम्पलाई अघिल्लो महिना अमेरिकी सर्बोच्च अदालतले अनुसन्धानलाई सघाउन आदेश दिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउन पाँच साता मात्र बाँकी रहेको बेला सुरु भएको ट्रम्पको कर छली यात्रा उत्खननले निर्वाचनलाई थप रोचक बनाइदिएको छ ।