समाचार

देउवाविरूद्ध २७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित विरोध पत्र दर्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ जना केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई पार्टी विधिसम्मवत चलाउन माग गरेका छन् । उनीहरुले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्न सभापति देउवासँग माग गरेका हुन् ।

उनीहरुले सोमबार सभापति देउवालाई ज्ञापनत्रप बुझाउँदैं नजिकिँदै गरेको पार्टीको १४ औं महाधिवेशन सार्ने खेलमा नलाग्न पनि सभापति देउवालाई चेतावनी दिएका छन् । उनीहरुले सभापतिबाटै पार्टीमा अराजकता, द्वन्द्व, पक्ष–विपक्षको रुपमा ध्रुवीकृत भएको आरोप लगाएका छन् ।

‘यस्तो पक्षपात पूर्ण ढंगबाट महाधिवेशन गर्न खोज्नुले केवल पार्टी कब्जा गर्ने नियत देखिन्छ । महाधिवेशनको मिति तोकिसकेपछि पार्टीका विभाग एवं अन्य संरचनामा विभिन्न नियुक्तिहरु गर्नु वैधानिक व्यवस्था र महाधिवेशनको आचारसंहिताको ठाडो उल्लंघन हो । तसर्थ केन्द्रीय विभाग गठनका कार्य तत्काल रोकिनु पर्दछ,साथै पार्टीको विधान विपरित भईरहेको क्रियाशील सदस्यता वितरण तत्काल बन्द गरिनु पर्दछ भन्ने कुरा जिल्ला सभापतिहरु एवं हामीले बारम्बार सभापतिज्यूलाई ज्ञापनपत्रद्वारा विभिन्न पटक आग्रह गरेका हौं’, ज्ञापनपत्रमा भनिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर बुझाइएको हो ।