मनोरञ्जन

बिहीबारबाट चल्ने भए दशैंका सहुलियत पसल

काठमाडौं । नजिकिएको दशैंलाई लक्षित गरी सरकारले बिहीबारबाट सहुलीयतपूर्ण पसल संचालनमा ल्याउने भएको छ । बजारमा अधिक बढिरहेको भाउ नियन्त्रण गर्दै सर्वसाधारणलाई राहत दिने उद्देश्यले सहुलियतपूर्ण पसल संचालन गर्ने निर्णय भएको हो । यसले महंगी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ असोजबाट पसल संचालनमा ल्याउने निर्णय गरेको हो । यस्तो पसल ६ मंसिरसम्म चल्नेछ । देशभर ६० वटा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याइने भएको छ । ‘काठमाडौं उपत्यकामा १३ वटा यस्ता पसल चल्ने भएक छन् ।

सहुलियत पसलमा राख्ने सामानको टुंगो भने लागिसकेको छैन । सोमबारको निर्णयअनुसार काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाँच, साल्ट ट्रेडिङले पाँच, तथा दुग्ध विकास संस्थाले तीन गरी १३ वटा पसल सञ्चालनमा ल्याउने भएका हुन् ।

उपत्यकाबाहिर खाद्यले २४ वटा कार्यालय र साल्ट ट्रेडिङको २३ कार्यालयमार्फत सहुलियत पसल सञ्चालनमा आउने बताइएको छ ।