समाचार

झापामा एक वृद्ध महिलाको विभत्स हत्या

झापा । झापामा एक वृद्ध महिलाको विभत्स हत्या भएको छ । उनको मृत शरीर आफ्नै घरको खाटमुनी भेटिएको हो । झापा, गौरादह नगरपालिका १ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा खाटमुनि शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको शव सोमबार दिउँसो साढे ४ बजे फेला परेको हो ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो । आफ्नै घरमा हात बाँधिएको अवस्थामा उनको शव भेटिएको र शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।

महिलाको टाउकोमा गम्भीर चोट देखिएको र रगत बगेका कारण उनको विभत्स हत्या भएको अनुमान प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा कसैलाई प्रहरीले पक्राउ भने गरिसकेको छैन ।