रोचक खवर

ब्रोइलर चल्लालाई मेहेन्दी लगाउँदै लोकल बनाउँदै…

काठमाडौं । मेहेन्दी एक सौन्दर्य प्रशासन हो । यसले सुन्दरता थप्ने विश्वासमा प्रयोग गरिन्छ । तर, नेपालमा केही व्यक्तिले ब्रोइलर कुखुराको चल्लालाई लोकल कुखुरा बनाउन मेहेन्दी प्रयोग गर्ने खुलेको छ । रोचक तथ्य त यसरी लोकलमा परिणत भएको कुखुरा सधैभरी लोकल नै बन्दैन ।

१०\ १२ दिनपछि यसको आफ्नो वास्तविक स्वरुप खुल्छ र ग्राहकले आफु ठगिएको पत्ता पाउँछ । आज यस्तै ठगीमा संलग्न व्यापारीहरु पक्राउ परेका छन् । आज चार जना भारतीय नागरिक ब्रोइलरका चल्ला ल्याएर रङ लगाउँदै गर्दा फेला परेका हुन ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका १४ कलङ्कीबाट चल्लालाई रङ लगाउँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक प्रेमसिलादेवी जययसवाल, वकील खान, सुनिता जयसवाल, चन्दादेवी शाह छन् ।

उनीहरुले चितवन लगायत विभिन्न जिल्लाबाट ब्रोइलरको चल्ला ल्याइ रङ लगाएर लोकलको मुल्यमा बिक्री गर्दै आएको खुलेको छ । १० रुपैयाँ प्रतिगोटा मूल्यमा किनेका चल्लालाई रङ लगाएपछि प्रतिगोटा रु. १५० सम्ममा विक्री गर्ने गरेको समेत प्रहरीले बताएको छ ।

प्रहरीलाई आएको सूचनाका आधारमा प्रहरी उनीहरुसमक्ष पुगेको थियो । प्रहरीले उनीहरुको साथबाट रङ लगाएका झण्डै चार हजार र रङ लगाउने तयारीमा राखिएका २४ हजार चल्ला बरामद गरेको छ ।