फिचर

न्यूयोर्क सिटीले घोषणा गर्यो जलवायु परिवर्तन संकटकाल, ट्रम्प नीतिलाई चुनौती

<> on October 16, 2017 in New York, United States.

न्यूयोर्क
अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्क सिटीले जलवायु संकटकाल घोषणा गरेको छ । बढ्दो विश्व तापक्रम जुध्न सिटीले यो ऐतिहासिक घोषणा गरेको हो ।

न्यूयोर्कले यो निर्णयसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि प्रष्ट सन्देश दिएको छ । न्यूयोर्कमै घर भएका ट्रम्प जलवायु परिवर्तनमा विश्वास गर्दैनन् र यससँग सम्बन्धित बैज्ञानिक तथ्यहरुलाई हाँसोको बिषय बनाउँदै आएका छन् ।

झन्डै ९० लाख जनसंख्या भएको न्यूयोर्क सिटी काउन्सिलले बुधबार यस सम्बन्धि कानून पारित गर्दै संकटकाल घोषणा गरेको हो । सिटी काउन्सिलले विश्वको बढ्दो तापक्रमलाई सम्बोधन गर्न तत्कालै कदम चाल्नु पर्ने निचोड निकालेको छ । बिभिन्न अध्ययन र रिपोर्टहरुलाई उद्दृत गर्दै जलवायु परिवर्तनका असर र प्रभाव केलाउँदै सिटी काउन्सिलले उक्त निर्णय लिएको हो । बढ्दो तापक्रमका कारण सुरक्षित वातावरणका लागि धर्ती धेरै तातो हुन लागेको सिटीले उल्लेख गरेको छ ।
सिटी काउन्सिलले वातावरणप्रति ट्रम्प सरकारको रवैयालाई पनि कडा आलोचना गरेको छ । ‘विश्वको जलवायु परिवर्तनका लागि अमेरिका अत्यन्त जिम्मेवार रहेको छ । तर, त्यती हुँदा पनि हरित अर्थतन्त्रका लागि विश्वले थालेको पहलमा पनि निरन्तर भाँजो हालि रहनु आफैँमा खेदजनक छ किनकी यो चुनौतीको सम्बोधनका लागि प्राथमिक पहलकदमी (अमेरिकाले) लिनुपर्ने हो’ सिटी काउन्सिलले आफ्नो घोषणामा उल्लेख गरेको छ ।

संकटकाल घोषणामा जलवायु परिवर्तनलाई सम्बोधनका लागि के कस्तो नीतिगत व्यवस्था गर्ने भन्ने चाहिँ उल्लेख छैन । तर, आगामी दिनमा नीति बनाएर यसमा सम्बोधन गर्दै जाने बताइएको छ । न्यूयोर्क राज्यले पनि सन् २०५० भित्र इन्धनका कारण हुने तापक्रम बृद्धिलाई सम्बोधन गरि सक्ने गरि नीति तय गर्ने यस अघिनै घोषणा गरेको थियो ।

अहिलेसम्म १५ मुलुकका बिभिन्न ६७० स्थानीय सरकारहरुले जलवायु संकटकाल घोषणा गरि सकेका छन् । त्यसमा अमेरिकाका सानफ्रान्सिस्को, होबोकन, न्यूजर्सी लगायत १८ सिटी रहेको छ । न्यूयोर्क थपिएसँगै अमेरिकी सहरको संख्या १९ पुगेको छ ।