खेलकुद

लगातार तेस्रो खेलमा पनि टीममा परेनन् सन्दीप, दिल्ली पराजित

आवुधावी । जारी आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो खेलमा पराजित भएको छ । यो खेलमा पनि नेपाली स्टार सन्दीप लामिछानेले भने खेल्ने मौका पाएनन् । दिल्लीलाई मंगलबार राति सम्पन्न खेलमा सनराइजर्स हैदरावादले १५ रनले पराजित गरेको हो । प्रारम्भिक दुई खेल हारेको हैदरावादले कसिलो बलिङमार्फत दिल्लीलाई हराउन सफल भएको हो ।

पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको क्षतिमा १६२ रन जोड्यो। उसका लागि जोनी वायस्टोले ४८ बलमा ५३ रन जोडे । कप्तान तथा ओपनर डेभिड वार्नरले ३३ बलमा ४५ रन र केन विलियमसनले २६ बलमा ४१ रन बनाएका थिए ।

बलिङमा दिल्लीका अमित मिश्रा र कागिसो रबाडाले २, २ विकेट लिए। १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो। दिल्लीका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले सर्वाधिक ३४ रन बनाए ।

रिशव पन्तले २८ रन तथा शिमरन हेटमेयरले २१ रन मात्र बनाउन सके । अन्य ब्याट्सम्यान चल्न सकेनन् । बलिङमा हैदरावादका रासिद खानले ३ विकेट लिए। उनले ४ ओभरमा १४ रन मात्र दिएका थिए ।