समाचार

सर्वोच्चमा बामदेव गौतमको पदबारेको बहस आज सकिएन, शुक्रबार फेरी हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेपछि यो विषय सर्वोच्चमा पुग्यो । सर्वोच्चले तत्काल निर्णय यथास्थितिमा राख्दै आजका लागि विपक्षीसहित दुबै पक्षलाई बहसमा बोलाएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज पुरा हुन सकेन ।

त्यसपछि सुनुवाई शुक्रबारसम्मका लागि लम्बिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबै पक्षबाट बहस भएको थियो । आज दुबै पक्षबाट चर्को बहस भएपनि कानुन व्यवसायीको बहस गर्ने क्रम नसकिएका कारण शुक्रबार सम्मका लागि सरेको छ ।

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी गराएका छन् । नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा बुधबार बहस भएको छ ।

बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका हुन् ।