रोचक खवर

सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा प्रतिपक्षी कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस वर्तमान सरकारविरुद्ध आन्दोलन चर्काउने मुडमा पुगेको छ । यसका लागि तयारी थाल्ने निष्कर्षमा कांग्रेस पुगेको हो । केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार जनताका समस्यामा असहिष्णु रहेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले आन्दोलनको विकल्प नरहेको निष्कर्ष समेत निकालेको छ ।

सरकारविरुद्ध सदन र सडकबाट आन्दोलनको तयारी थालिएको नेताहरुले बताएका छन् । बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बसेको थियो । बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने प्रस्ताव असोज १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा लैजाने निर्णय गरेको छ ।

कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको र जनता रोग तथा भोकसँग लड्दा पनि सरकार संवेदनसिल नभएको भन्दै कांग्रेस आन्दोलनको निष्कर्षमा पुगेको हो । यसैबीच कांग्रेस केन्द्रीय समितिको बैठक भने असोज १९ मा बस्ने भएको छ ।

बैठकमा सभापति देउवाले सामाजिक दूरी कायम गरी सडक आन्दोलन गर्ने प्रस्ताव गर्ने गरी आजको पदाधिकारी बैठक सकिएको छ । पदाधिकारीको बैठकले संसदको विशेष अधिवेशन बोलाउन समेत माग गर्ने निर्णय गरेको छ ।