विश्व

पाकिस्तानले खोल्यो सबै शिक्षण संस्था

इस्लामावाद । कोरोना भाइरसको नियन्त्रणमा दक्षिण एसियामै सफल मुलुक पाकिस्तानले अन्ततः सबै प्रकारका शिक्षण संस्था खुला गरेको छ । महामारी नियन्त्रणका लागि बन्द गरिएका पाकिस्तानका सबै शैक्षिक संस्था बुधबारबाट सूचारु गरिएको हो ।

सरकारी अधिकारीहरुले झण्डै ६ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन भएको जानकारी गराएका छन् । पाकिस्तानी संचारमाध्यमहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भए पनि नियन्त्रणमा सरकार सफल भएको छ ।

बुधबारबाट सरकारी र निजी दुवै प्रकारका विद्यालय खुला भएका छन् । सञ्चालनमा आएका विद्यालयमा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पालनाका नियम भने अत्यन्तै कडा बनाइएको छ । मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र परिचालन भएको बताइएको छ ।

पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २६३ जना कोरोना भाइरसबाट संक्रमित छन् । पछिल्लो २४ घण्टामा भने मात्र ७४७ जना थपिएका छन् । यहाँ ६ हजार ४७९ जनाको मृत्यु भएको छ ।