समाचार

बाबुराम, विप्लव र वैद्यलाई प्रचण्डको आह्वान : एकता गरौं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल माओवादी छाडेर छिन्नभिन्न भएका नेताहरुलाई एकताको आह्वान गरेका छन् । डा.बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारकै राजनीतिमा फर्कन आह्वान गर्दै उनले एकताको चाहना व्यक्त गरेका हुन् ।

तत्कालीन माओवादी छाडेका हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीस्थित नेकपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो आह्वान गरेका हुन् । कम्युनिष्ट एकै पार्टीमा बसेर बहस गर्न सक्ने भन्दै उनले छलफल, संघर्ष रुपान्तरण र नयाँपन जीवन्त पार्टीमा चलिरहने विषय भएको समेत उल्लेख गरे ।

नेपालमा कम्युनिष्ट आन्दोलन विभाजन भएकै कारण आफुहरुले दुख पाउनु परेको र समस्या उत्पन्न भएको समेत उनले बताए । कम्युनिष्ट फुटेकै कारण कांग्रेसले सरकार चलाएको भन्दै उनले एकतामा त्यति ठूलो तागत हुने उल्लेख गरे । कम्युनिष्ट एकताको तागत नेपालले विश्‍वलाई देखाइसकेका भन्दै अध्यक्ष दाहालले एकतापछि अन्य समूह पनि नेकपामा आइरहेको उल्लेख गरे ।