कानुनी कुरा

फेमिली पेटिसनको रिसिप्ट आयो तर एप्रुभल लेटर आएन, के गर्ने होला ?

रमेश श्रेष्ठ
कानुन व्यवसायी, न्युयोर्क

मैले युएससीआईएसमा एसाइलमको निवेदन गरेको थिएँ । मेरो विवाहपछि मेरो श्रीमान्को युएस सिटिजनसिप प्राप्त भएकाले उहाँसँगै फेमिली पेटिसन गरें । त्यसपछि मेरो एसाइलमको निवेदन विथड्र गरें । तर पछि युएससीआईएसबाट सोही एसाइलमको निवेदनलाई कोर्टमा पठाई फेरि अन्तरवार्ताका लागि चिट्ठी पठाएको छ । मेरो युएससीआईएसमा पेश गरेको फेमिली पेटिसनको रिसिप्ट लेटर प्राप्त भयो । तर, एक वर्ष भयो एप्रुभल लेटर आएको छैन । अब मैले के गर्नुपर्छ होला, सुझाव पाए आभारी हुने थिएँ ।
डोमा शेर्पा, न्यूयोर्क

डोमाजी, अमेरिकी अध्यागमनले कुनै पनि विदेशी नागरकको भिसा नभएको वा कुनै पनि लिगल स्टाटसमा नभएको भन्ने जानकारी पाएपछि सो विदेशी नागरिकलाई रिमुभल प्रोसिडिङमा राखी कारबाहीका लागि इमिग्रेसन कोर्टमा पठाउनुपर्ने हुन्छ । तपाईंको केसमा पनि तपाईंको श्रीमान्ले अमेरिकी नागरिकता प्राप्त गरेर उहाँले तपाईंका लागि भिसा पेटिसन (आई–१३०) युएससीआईएसमा पेश गरे तापनि तपाईंको भिसा स्टाटस अहिले पनि गैरकानूनी नै रहेको मानिनेछ । त्यसैले तपाईंले एसाइलमको निवेदनतलाई लिखितरुपमा फिर्ता लिए पनि तपाईंको भिसा नभएको वा गैरकानूनीरुपमा अमेरिकामा बसेको भन्ने युएससीआईएसलाई लागेकाले कारबाहीका लागि तपाईंको केस इमिग्रेसन कोर्टमा पठाएको हुनुपर्छ । माथि उल्लेख गरेअनुसार एसाइलमको निवेदनमा कोर्टमा पठाउनु भनेको तपाईंलाई अमेरिकाबाट निष्काशनका लागि रिमुभल प्रोसिडिङमा राखेको हुनुपर्छ । यस अवस्थामा यदि तपाईंंलाई इमिग्रेसन कोर्टबाट सुनुवाइका लागि नोटिस आइसकेको छ भने उक्त सुनुवाइ मिटिमा अनिवार्यरुपमा कोर्टमा तोकेको मिति, समय र स्थानमा उपस्थित हुनुपर्नेछ । त्यस अवस्थासम्म यदि तपाईंको श्रीमान्ले पेश गर्नुभएको पेटिसन स्वीकृत भएको छैन भने कोर्टको केसलाई लम्ब्याएर राख्नुपर्ने हुन्छ । तपाईं रिमुभल प्रोसिडिङमा भएकाले तपाईंको आई–१३० पेटिसन स्वीकृत भए पनि उक्त प्रोसिडिङ टर्मिनेट नभएसम्म एड्जष्टमेन्ट अफ स्टाटस अर्थात् ग्रीनकार्ड प्राप्त भने गर्न सक्नु हुने छैन । त्यसरी नै यदि सुनुवाइको मितिमा कोर्ट जानु नभएमा तपाईंको अनुपस्थितिमा इमिग्रेसन जजले तपाईंको विरुद्धमा डिपोर्टेसन अर्डर पनि जारी गर्न सक्नेछ । डिपोर्टेसनको अर्डर जारी भएको खण्डमा तपाईंको युएस सिटिजन श्रीमान्ले पेश गर्नुभएको आई–१३० पेटिसन एप्रुभ भए पनि तपाईं ग्रीनकार्ड प्राप्त गर्न अयोग्य हुनुहुनेछ र तपाईंको केस धेरै कम्प्लिकेकेड हुनेछ । त्यसैले अनुभवी इमिग्रेसन लयरको सहयोग लिन सुझाव छ ।