स्वास्थ्य

काठमाडौंको फोहोर सडकमै, ५ दिनदेखि संकलन ठप्प

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापन भइरहेको सिसडोल ल्याण्डफिल साइटका स्थानीयको अवरोधका कारण पुनः काठमाडौंको फोहोर संकलन प्रभावित भएको छ ।

काठमाडौंको फोहोर पछिल्लो ५ दिनदेखि उठ्न नसक्दा दूर्गन्ध फैलिएको छ भने वर्षायाम भएका कारण महामारीको समेत सम्भावना बढेको छ ।

सिसडोल साइटमा फोहोर फाल्न छुट्याइएको स्थान भरिसकेको र जथाभावी फोहोर फाल्दा स्थानीयलाई असर पुग्ने भन्दै काठमाडौंको फोहोर रोकिएको हो ।

काठमाडौं महानगरपालिका अनुसार अहिले उपत्यकाबाट हरेक दिन ८ सय ५३ टन फोहोर उत्पादन हुन्छ । यस अनुसार हरेक वर्ष ३ लाख ७० हजार टन फोहोर काठमाडौांट व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको छ ।

शनिबार काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । त्यसक्रममा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।

३ वर्षका लागि भनेर ल्याण्डफिल साइट १४ वर्षदेखि लगातार प्रयोग भइरहेको छ । सरकारको अर्को वैज्ञानिक विकल्प तयार पार्न नसक्दा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुने गरेको हो ।