फिचर

४ वर्षअघि काबुलमा मारिएका नेपालीका परिवारले पाउने भए सम्मानजनक क्षतिपूर्ति

काठमाडौं । ४ वर्षअघि अफगानिस्तानको राजधानी काबुलमा भएका आतंकवादी हमलामा १५ नेपालीसहित केही भारतीय सुरक्षाकर्मीको समेत ज्यान गयो । तर, उनीहरुको परिवारले उचित क्षतिपूर्ति पाएका थिएनन् । अब आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते भएका नेपालीको परिवार र क्यानडा सरकारबीच मिलापत्र भएको छ ।

२० जुन २०१६ मा क्यानडा राजदूतावासअगाडी आत्मघाती आक्रमण भएको थियो । यो आक्रमणको जिम्मा तालिवानले लिएको थियो । घटनामा एक दर्जन नेपाली घाइते भएका थिए । घटनामा ज्यान गुमाएका परिवार र घाइतेले प्रतिव्यक्ति दुई करोड डलर क्षतिपूर्तिको माग गर्दै क्यानडा सरकारविरुद्ध दुई वर्षअघि अदालतमा मुद्दा दायर गरेका थिए ।

क्यानडा सरकारले घटनाका घाइते र मृत्यु भएका परिवारसँग गोप्यरुपमा यो मुद्दा सुल्झाएको क्यानेडेली संचारमाध्यमले जनाएका छन् । क्यानडाको दूतावासको सुरक्षाको जिम्मा लिएको कम्पनीले आफ्ना सुरक्षाकर्मीहरुलाई घटनापछि केहीलाई आशिंक क्षतिपूर्ति दिएको र केहीलाई भने कुनै पनि क्षतिपूर्ति दिएको थिएन ।

घाइतेको सुरुवाति उपचार गरिदिएको कम्पनी नै गायब भएपछि पीडितले क्यानडा सरकारविरुद्ध मुद्दा दायर गरेका हुन् । अब भने सहमतिमै मुद्दा सुल्झाइएको छ । तर, पीडितका परिवारको पहिचान गोप्य राखिएको छ । अब भने पिडित परिवारले समेत मुद्दा फिर्ता लिएका छन् ।