समाचार

प्रदेश नम्बर ५ को नाम लुम्बिनी, विपक्षमा ४ मत

काठमाडौं। प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी कायम भएको छ।

प्रदेश सभाको मंगलबारको बैठकमा भएको मतदानमा सरकारले सभामा प्रस्तुत गरेको प्रस्ताव पारित भएको हो।

बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। ८३ जनाले भोट हालेका छन्।

लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

अब प्रदेशको ५ को राजधानी देउखुरी हुनेछ। दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले ओगटेको राप्ती नदीले चर्चेको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउन प्रस्ताव गरिएको थियो।

शान्तिका अग्रदूत गौतमबुद्ध जन्मस्थल लुम्बिनीको महत्त्वलाई हृदयंगम गर्दै साझा चिनारीका रुपमा प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरिएको थियो।

प्रदेश ५ को राजधानी देउखुरी राख्ने प्रस्तावमा ६९ मत परेको थियो। विपक्षमा १३ मत परेको थियो।

प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा सहभागी थिए।