फिचर

नेपाल एयरलाइन्स ६२ औं वर्षमा, जति पुरानो उत्ति धेरै ऋण

काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबार स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ । ६१ वर्ष पुरानो गौरव बोकेपछि निगमले आफ्नो साँखलाई भने निरन्तरता दिन सकेको छैन ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा निगमको अहिले करीव ३७ अर्ब हाराहारी ऋण रहेको जानकारी दिइयो । यो ऋण निगमले जहाज किन्दा लागेको हो ।

तर, जहाज आइसकेपछि निगमले योजनाअनुसार उडाउन नसक्दा अहिले जहाजहरु घाटामा संचालन भइरहेको निगममा कार्यकारी अध्यक्ष मदन खरेल स्वीकार गर्छन् ।

उनका अनुसार निगमले आगामी अगष्टमा मात्र नयाँ गन्तब्य थप्दैछ । नयाँ गन्तब्यका रुपमा जापानको नारितामा उडान बिस्तारको योजना छ ।

यसबाहेक चीनको ग्वान्झाउ, साउदी अरेवीया र कोरियामा पनि उडान बिस्तारका लागि कागजी प्रक्रिया मिलाउने काम भइरहेको छ ।

कुनै समय दुई दर्जन जहाजका साथ यूरोप र एसियाका विभिन्न विकसित मुलुकसम्म उडान गरेको निगमलाई राजनीतिक दलका कार्यक्रता भर्ति केन्द्रको थलो बनाउँदा अहिले टाट पल्टने अवस्थामा पुगेको छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले निगमलाई व्यापारमा फड्को मार्ने गरी व्यापारिक कार्ययोजना ल्याउन आग्रह गरेका छन् ।

निगमले नेपाल सरकारसँग पूँजीवृद्धिका रुपमा २० अर्ब रुपैयाँ मागिरहेको छ । तर, प्रधानमन्त्रीले यथास्थितिमा एक रुपैयाँ पनि निगमलाई दिन नसकिने स्पष्ट पारेका छन् ।

वर्तमान व्यवस्थापनको शैलीबाट आफु असन्तुष्ट रहेको भन्दै आमुल परिवर्तन हुने गरी कार्ययोजना ल्याउन पनि उनले आग्रह गरे ।