फिचर

१२ हजार भूकम्प पिडितले एकमुष्ट ३ लाख पाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिक गाउँमा खटिनु अगाडी नै घर निर्माण गरेका करीव १२ हजार भूकम्पपिडित परिवारलाई एकमुष्ट तीन लाख रुपैयाँ दिने भएको छ ।

प्राधिकरणले भूकम्पपिडितका लागि बनाइएका घरको निरिक्षण गर्न प्राविधिक खटिनुपूर्व नै निर्माण भएका घर धनीले एकमुष्ट ३ लाख अनुदान पाउने गरी कार्यविधि बनाएको छ ।

प्राधिकरण कार्यकारी समितिको मंगलबारको बैठकले प्राविधिक खटिनु अगाडी नै घर बनाएका भूकम्पपिडितलाई निजी आवास पुनर्निर्माण अनुदान दिने सम्बन्धी कार्यविधि पारित गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

अब द्रूत गतिमा अनुदान वितरण हुने प्राधिकरणका सीइओ सुशील ज्ञवालीले जानकारी दिए ।

कार्यविधि अनुसार अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको हुनुपर्ने र त्यस घरमा लाभग्राही बसिरहेको भनी स्थानीय तहले प्रमाणित गरिदिनुपर्छ ।

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिएका छन् भने ४ लाख २३ हजार घर पुनर्निर्माण सम्पन्न भइसकेका छन् ।

२ लाख ११ हजार घर पुनर्निर्माण भइरहेका छन् । प्राविधिक खटिनपुर्व करीव १२ हजार घर बनेको तथ्यांक प्राधिकरणसँग रहेको छ ।

थप तथ्यांक आउने क्रम जारी नै रहेको र त्यसलाई पनि समावेश गरेर एकमुष्ट अनुदान उपलब्ध गराउने प्राधिकरणले उल्लेख गरेको छ ।