समाचार

आइफा अवार्डमा संसदको हस्तक्षेप, सबै प्रक्रिया रोक्न निर्देशन

काठमाडौं । व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्डका सबै प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले उक्त निर्देशन दिएको समिति सभापति पवित्रा निरौलाले जानकारी दिइन ।

सरकार र आइफा आयोजकबीच प्रारम्भीक चरणको छलफल भइसकेको छ । छलफलमा आयोजकले नेपाल सरकारसँग ४० लाख डलर नगद र अन्य व्यवस्थापनको खर्च जुटाउन माग गरेको छ ।

यो रकम सार्वजनिक भएसँगै अवार्ड विवादमा तानिएको हो । प्रस्तावित सम्झौताको मस्यौदा नेपालको स्वाधिनता, स्वतन्त्रता माथि नै खतरा पुर्याउन सक्ने भन्दै समितिले सबै प्रक्रिया रोक्न सरकारका नाममा निर्देशन जारी गरेको छ ।

यद्दपी समितिको यो निर्देशन सरकारले मान्छ या मान्दैन भन्ने अझै अन्यौल रहेको छ । समितिको मंगलबारको बैठकमा सांसदहरुले ठूलो धनराशी भारतीय अवार्डका लागि दिन लागेको भन्दै सरकारको आलोचना गरेका थिए ।

उनीहरुले यस अवार्डबाट नेपालको स्वतन्त्रता माथि नै धावा बोल्ने भन्दै अगाडी बढाउन नहुने धारणा राखेका थिए ।

बैठकमा सरकारको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीले नेपालको पर्यटनका लागि यो ठूलो अवसर भएको उल्लेख गरेका थिए ।