समाचार

राष्ट्रपति ट्रम्पले अमेरिकाको जन्मोत्सवमा देखाउने भए सैन्य शक्ति

न्यूयोर्क

राष्ट्रपतिमा निर्वाचित भएदेखि नै फरक रुपमा प्रस्तुत हुँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले भोली बिहीबारको अमेरिकी स्वतन्त्रता दिवस समेत फरक रुपमा मनाउने भएका छन् ।सन् १७७६ जुलाई ४ मा ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको अमेरिकाको बिशेष दिनलाई अन्य राष्ट्रपति झैं परम्परागत ढंगमा यस पटक राष्ट्रपति ट्रम्पले अमेरिकी स्वतन्त्रता दिवस नमनाउने भएका छन् ।भोली बिहीवार अमेरिकाको राजधानीमा मनाईने अमेरिकाको स्वतन्त्रता दिवसको परिकल्पना समेत राष्ट्रपति ट्रम्प स्वयमले नै गरेका छन् ।

बार्बिक्यू गर्दै भुई चम्पा र पटकाको झिलिमिलीमा “ह्यापी बर्थ डे अमेरिका” भनेर रमाईलो गरेर मनाईदै आएको अमेरिकी जन्मोत्सवको परम्परागत ढंगलाई तोडेर अमेरिकी राजाधानीमा विश्व कै शक्तिशाली सैनिकले परेड गर्दै आधुनिक ट्यांकर प्रदर्शन सहित मनाईने भएको छ । बिहीवारको सैन्य शक्ती प्रदर्शनलाई अमेरिकी मुलधारका कतिपय संचार माध्यमले प्रथम गल्फ वार पछिको बिशाल सैन्य शक्ती प्रदर्शनको संज्ञा समेत दिएका छन् ।कार्यक्रममा राष्ट्रपति ट्रम्पले लिङ्कन मेमोरियलबाट राष्ट्रको नाममा सम्वोधन गर्ने छन् भने एयर फोर्स वान, मरिन वान, हेलिकप्टर र ब्लु ईन्जिन लगायत आधुनिक अमेरिकी सैनिक बिमान वाशिङ्टन डि सिको आकाशमा उडाईने छ।वाशिङ्टन डि सिको नेसनल मलमा युद्धमा प्रयोग गरिने ट्यांक स्टेसन खडा गरिने छ ।तेश्रो पुस्ता अमेरिकनको एम वान अब्राम्स समेत प्रदर्शनीका लागि राखिने छ । उनको राजनीतिक दल रिपब्लिकनका लागि ठुला चन्दादाताहरुलाई कार्यक्रमको पहिलो पंक्तीमा राखिने समेत बताईएको छ।वाशिङ्टन डि सि क्षेत्रका सम्पूर्ण हवाई उडान साँझ २ घण्टाको लागि रद्ध गरिने गरी फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले सुचना जारी गरी सकेको छ । कार्यक्रमका लागि आवश्यक पर्ने आर्थिक व्ययभार २५ लाख अमेरिकी डलर नेशनल पार्क सर्भिसले पार्कको मर्मत संभार शिर्षकबाट दिईएको वाशिङ्टन पोष्टले लेखेको छ ।

राष्ट्रपति ट्रम्पको परिकल्पनामा अमेरिकी ईतिहासमा पहिलो पटक अमेरिकी सैन्य शक्ती प्रदर्शनी सहित आयोजित स्वतन्त्रता दिवसको कार्यक्रमलाई उनका बिपक्षी दल डेमोक्र्याटले “स्वतन्त्रता दिवसलाई राजनीतिकरण गरिएको” भन्दै बिरोध जनाएका छन् ।