समाचार

लिविया आक्रमणमा नेपाली पनि परेको पुष्टि

काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमण र हताहतीमा एक नेपाली पनि परेका छन् । इजिप्टको कायरो स्थित नेपाली दूतावासले आक्रमणमा परी एक नेपालीको निधन भएको पुष्टी गरेको हो ।

आक्रमणमा नेपाली सन्तोष श्रेष्ठको ज्यान गएको दूतावासले पुष्टी गरेको हो । आक्रमणमा परी घाइते भएका उनको  स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ ।

उनको स्थायी ठेगाना बारे भने अझै खुलिनसकेको दूतावासको भनाई छ ।

लिबियाको राजधानी त्रिपोलीमा आप्रवासी हिरासत केन्द्रमा मंगलबार हवाई आक्रमण भएको थियो । आक्रमणमा परी ४० जनाले ज्यान गुमाएका थिए ।
दूतावासका अनुसार उक्त केन्द्रमा श्रेष्ठसहित १५ नेपाली थिए । उनीहरु भने आक्रमणमा जोगिएका छन् जोगिएका नेपालीलाई घर फकाउने क्रम शुरु भएको छ ।

त्यसमध्ये ८ जना फर्किसकेको र ६ जना फर्कने क्रममा रहेको दूतावासको भनाई छ । उनीहरु अहिले त्रिपोली मै छन् ।

यूरोपका विभिन्न मुलुक लैजाने प्रलोभनमा नेपालीलाई लिविया पुर्याउने गरिएको पाइन्छ । दूतावासका अनुसार पछिल्लो २ महिनामा दुई दर्जन नेपालीलाई उद्दार गरिसकिएको छ ।