बिचार

के हो बबल एण्ड क्र्यास ?

निरञ्जन फुयाल
प्रबन्धक नेप्से
बबल एण्ड क्र्यासको प्रमुख कारण उत्तेजना, लोभ, डर, अपेक्षाजस्ता मानवीय संवेदना र तत्कालीन समयको परिघटना नै हुन् । यसबाट बजारमा हुने उतारचढावले बजारमा बबल एण्ड क्र्यासको अवस्था सृजना गर्दछ । यसबाट अर्थतन्त्रमा ठूलो असर पर्दछ भने लाखौं मानिसले रोजगारी एवं लगानी गुमाउने अवस्था आउँछ । मानवीय संवेदनालाई नियन्त्रण गर्न नसकिने भएकैले बबल एण्ड क्र्यास दोहोरिएको देखिन्छ । अघिल्ला अंकहरुमा १९औं शताब्दीसम्मको इतिहास उल्लेख गरिएकोमा यस पटक त्यसपछिका प्रमुख बबल एण्ड क्र्यास प्रस्तुत गरिएको छ ।

वेयरिङ क्राइसिस
ठूला आयोजना निर्माण गर्दा दीर्घकालीन लगानीका स्रोतहरुका योजना नगरी अल्पकालीन पूँजीका आधारमा दीर्घकालका आयोजना निर्माण थालनी गर्दा निम्तिएको समस्या हो– वेयरिङ क्राइसिस । सन् १८८० मा अर्जेन्टिनी राष्ट्रपतिमा चुनिएपछि जुलियो रोकाले देशको पूर्वाधार विकासमा दीर्घकालीन आयोजनाहरुको निर्माण सुरु गरे । राजधानी शहरलाई पेरिस जस्तै भव्य र आधुनिक बनाउने रेलवेका लागि ट्र्याक निर्माण गर्नेजस्ता महत्वाकांक्षी योजनाहरु पूँजीको पर्याप्तता विचार नगरी सुरु गरियो । यसका लागि युरोपियन पूँजी बजारबाट ठूलो मात्रामा विदेशी ऋण लिइयो । तत्कालका लागि दक्षिण अमेरिका र युरोपमा (खास गरी ब्रिटेनमा) पूँजीको प्रवाहवाट लगानीकर्ताहरुलाई उत्साहको वातावरण सृजना भयो । १८८० देखि करिब १० वर्षसम्म निरन्तर रुपमा युरोपबाट अर्जेन्टिना लगायतका दक्षिण अमेरिकी मुलुकहरुमा ऋण पूँजीको प्रवाह भयो । अर्जेन्टिनाको नयाँ ऐनले लगानी योग्य रकम जुटाउनका लागि यूरोपियन ऋणपत्र वा सुन ऋणपत्रलाई सुरक्षणमा राखी स्थानीय मुद्रामा नोट जारी गर्ने अधिकार बैंकहरुलाई दियो । यसले गर्दा सरकार मात्र नभएर बैंकहरुले पनि अन्तर्राष्ट्रिय बजारमा ऋण लिन शुरु गरे र ऋणको भार अझै बढ्दै गयो ।
तर सोचेअनुसार आयोजनाहरु समयमा नै सम्पन्न हुन सकेनन् र ब्याज एवं ऋण तिर्नका लागि त्यस्ता आयोजनाबाट आम्दानी प्राप्त हुन सकेन । सरकारको आम्दानीबाट ब्याज एवं ऋण तिर्न सक्ने अवस्था थिएन । स्थानीय स्तरमा मुद्रास्फिती बढ्दा विदेशी मुद्रामा लिएको ऋण रकम झन् धेरै हुन गयो । सन् १८९० मा अर्जेन्टिना सरकारले ४८ मिलियन पाउण्ड बराबरको ऋण तिर्न सकेन । उक्त समयमा यो रकम धेरै ठूलो मानिन्थ्यो । बेलायत लगायतका देशहरुका केन्द्रीय बैंकले दक्षिण अमेरिकी मुलुकहरुमा गरिने लगानीलाई धेरै कडाइ गरे । यी कारणहरुले गर्दा रकमको अभावमा आयोजनाहरुको प्रगति शून्य हुन पुग्यो भने प्रतिफल प्राप्त नहुँदा विश्वभरका लगानीकर्ताहरुको मनोबल कमजोर भयो ।
यो समस्यालाई वेयरिङ क्राइसिस भन्नुको मुख्य कारण चाहिँ यो सबै कामको अन्डरराइटिङ गर्ने कार्य लण्डनको वेयरिङ ब्रदर्स नामक एक कम्पनीले गरेको थियो । अर्जेन्टिनाको अर्थतन्त्रमा आएको समस्याका कारण यो कम्पनी टाट पल्टिने अवस्थामा पुग्यो । यो कम्पनी धेरै ठूलो रहेकोले जोगाउन बेलायती सरकारले नै पहल गर्नुप¥यो । बेलायतको केन्द्रीय बैंकले फ्रान्स, रसिया लगायतका देशहरुसमेतको मद्दतले वेयरिङ कम्पनीलाई जोगाउन सक्यो । तर, यसको असर सन् १८९० को दशकभरि दक्षिण अमेरिकी देशहरु, यूरोप, अमेरिका र अष्ट्रेलियाको बजारमा समेत प¥यो । वेयरिङ क्राइसिसले विश्व अर्थतन्त्र एक आपसमा निर्भर रहेको स्पष्ट सन्देश दियो । करिब १३० वर्षअघिको यो घटना आजसम्म पनि शिक्षाप्रद छ । नेपालमा पनि रेलमार्ग, ठूला एयरपोर्ट र सामाजिक लगानी लगायतका परियोजनाहरुमा लगानी गर्ने नीति रहेकाले यसका दीर्घकालीन असरका बारेमा अध्ययन गरी अन्तिम निर्णय लिनु उपयुक्त हुन्छ ।

द ग्रेट क्र्यास १९२९
शेयर बजारको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो क्र्यासका सन् १९२९ को क्र्यास हो । १९औं शताब्दीसम्म यूरोप र खासगरी बेलायतमा रहेको आर्थिक एवं सामरिक शक्ति २०औं शताब्दीको सुरुवातदेखि नै बिस्तारै अमेरिकामा केन्द्रित हँुदै थियो । धेरै ठूला परियोजनाहरुमा अमेरिकामा लगानी हुन सुरु भयो र अमेरिकी पूँजी बजार एवं न्यूयोर्क स्टक एक्सचेन्ज संसारकै ठूलो बजार बन्न गयो । सन् १९२० को दशकको सुरुबाट नै न्यूयोर्क स्टक एक्सचेन्जका परिसूचकहरु निरन्तर उकालो लाग्न थाल्यो । लगानीकर्ताहरुमा क्रमिक रुपमा उत्साह बढ्दै गयो । यसै क्रममा सन् १९२४ बाट अमेरिकामा बुल मार्केटको क्रम सुरु भएको मानिन्छ । धेरै कम्पनीहरुले उत्साहप्रद रुपमा नाफा कमाउँदा लगानीकर्ताहरुले पनि बजार वृद्धिवाट उच्च प्रतिफल प्राप्त गर्दै गए र स्पेकुलेशन पनि बढ्दै गयो । त्यस बखतका प्रख्यात अर्थशास्त्री फिसरले शेयरको उच्च मूल्यलाई सधंै उच्च स्थानमा बस्ने मूल्यसमेत भनेका थिए ।
क्र्यासको सुरुवात भने सन् १९२९ को अक्टोबर २४ बिहीबारबाट सुरु भएको थियो । सो दिन बजार शुरु हुनासाथ करिब ११ प्रतिशतले बजार घट्यो । आजसम्म पनि उक्त दिन ‘ब्ल्याक थर्सडे’का रुपमा प्रचलित छ । यसको पाँच दिनसम्म न्यूयोर्क स्टक एक्सचेन्जको शेयर मूल्य एवं परिसूचकहरु निरन्तर उच्च दरले घट्न गयो । पत्रिकाहरुले यससम्बन्धी खबर छाप्न थालेपछि लगानीकर्ता अझै डराए र अक्टोबर २८ मा १३ प्रतिशतले बजार घट्यो । यसले विश्वभरिका लगानीकर्ताहरुमा त्रास सृजना ग¥यो भने हतास भएका लगानीकर्ता शेयर बिक्री गर्न दौडिए । यसको १२ वर्षसम्म अमेरिकी लगायत विश्व अर्थतन्त्र संकटमा प¥यो र यसलाई अर्थतन्त्रको इतिहासमा ‘द ग्रेट डिप्रेशन’का नामले चिनिन्छ । यो डिप्रेशनले पूँजी बजार अर्थतन्त्रको ऐना रहेको कुरा स्पष्ट पारिदियो ।
यसबाट अमेरिकाको कूल जीडीपीमा ३० प्रतिशतले ह्रास आयो भने नयाँ लगानीहरु शून्य भयो । १९२९ मा ३ प्रतिशत रहेको बेरोजगारी दर १९३३ मा २५ प्रतिशत भयो । लाखौंका संख्यामा फर्महरु टाट पल्टिए । प्रतिस्पर्धाले बजारलाई सन्तुलित बनाउँछ भन्ने वैचारिक धरातलबाट बजारमा सरकारको हस्तक्षेप आवश्यक छ भन्ने विचार बलियो हुँदै गयो । बजारमा सेप्टेम्बर ३, १९२९ मा कायम रहेको उच्च बिन्दु परिसूचक सन् १९५४ मा मात्र बजार सो बिन्दुमा पुग्न सक्यो ।

जापानको ८० दशकको बबल एण्ड क्र्यास
दोस्रो विश्व युद्धपछि निरन्तर सुधारमा रहेको जापानी अर्थतन्त्र सन् १९८० को सुरुवातमा उच्च वृद्धि हुन थाल्यो । जापानी लगानीकर्ताको मनोबलमा बढ्न गई शेयरबजार तथा घरजग्गाको मूल्यमा तेजी आयो । यसैगरी वृद्धि भएमा केही समयमा नै जापानको अर्थतन्त्रले अमेरिकी अर्थतन्त्रलाई उछिन्ने अनुमान गर्न थालियो । मूल्य यति धेरै आकासियो कि टोकियोमा एक व्यापारीले आफ्नो घर बेच्दा अमेरिकामा सानो सहर नै किन्न पुग्ने पैसा हुन्थ्यो । तर यो तेजी धेरै दिन टिकेन । सन् १९८७ वाट जापानी बजारमा क्र्यास शुरु भयो । यसको असर संसारभरिकै शेयर बजारमा प¥यो । अक्टोबर १९, १९८७ मा अमेरिकी परिसूचक २२ प्रतिशतभन्दा बढीले घट्न गयो जुन हालसम्मकै एकदिने ठूलो क्र्यास हो । त्यसपछि मन्दीमा गएको जापानी अर्थतन्त्र अझै पूर्णरुपमा सबल हुन नसकेको मानिन्छ ।

डट कम बबल
सन् १९९० को दशकको सुरुदेखि नै कम्प्यूटर र इन्टरनेट प्रविधिको विकाससँग सम्बन्धित कम्पनीको संख्या एवं आकारमा नाटकीय वृद्धि भयो । संसारका ठूला कम्पनीहरुमा यस क्षेत्रका कम्पनीहरु पर्न थाले भने यस्ता कम्पनीका मालिकहरु अर्बपतिमा गणना हुन थाले । यस्तो वृद्धि देखेर सबै लगानीकर्ताहरु सन् १९९४ देखि इन्टरनेटसँग सम्बन्धित डट कम कम्पनीहरुमा आकर्षित भए र त्यस्ता कम्पनीको शेयर मूल्य अझै बढ्यो । तर, सबै कम्पनीहरुले अपेक्षाअनुसार प्रतिफल दिन सकेनन् र सन् २००० को सुरुवातबाट धेरैजसो डट कम कम्पनीहरुको शेयर मूल्य ओरालो लाग्यो । वल्र्ड कम, नर्थ प्वाइन्ट कम्युनिकेशन आदि कम्पनीहरु बन्द नै भए भने सिस्को कम्पनीको करिब ८६ प्रतिशत शेयर मूल्य घट्यो । यसले गर्दा धेरै लगानीकर्ताहरुले आफ्नो लगानी गुमाए ।

अन्तर्राष्ट्रिय वित्तीय संकट २००८
सन् १९३० मन्दीपछिको सबैभन्दा ठूलो वित्तीय संकट सन् २००७ मा अमेरिकाबाट शुरु भयो । यसको सुरुवाती लक्षण सन् २००७ मा घर जग्गा मूल्यमा आएको तीव्र कमी थियो । सन् २००५ मा अमेरिकमा इतिहासकै सबैभन्दा धेरै घरहरुको निर्माण भयो । बैंकबाट सहज कर्जा प्राप्त गर्न सकिने भएकाले यसको बिक्री पनि सजिलै हुन्थ्यो । तर, २००७ मा घरजग्गाको बिक्रीमा कमी भयो । बैंकमा धितो रहेको एवं सेक्युरिटीकरण गरी दोस्रो बजारमा खरिदबिक्री गरिएबाट यसले सबै क्षेत्रमा जोखिम विस्तार गर्न पुग्यो । यसको प्रत्यक्ष असर बैंकिङ एवं वित्तीय क्षेत्रमा प¥यो र अन्तर्राष्ट्रिय रुपमा सबै शेयर बजार ओरालो लाग्न थाले । ठूला कम्पनीलाई जोगाउन सरकारले लगानी गर्न थाल्यो भने सरकारको खातामा पनि ऋणको भार बढ्न गयो । यसको असर यूरोपियन ऋण बजारमा १० वर्षसम्म पर्न गयो । साना धेरै कम्पनीहरु टाट पल्टिए भने बेरोजगारीको संख्या बढ्यो । यो वित्तीय संकटमा विश्वका धेरै देशका शेयर बजारमा प्रत्यक्ष असर प¥यो भने सबैजसो देशमा प्रत्यक्ष अप्रत्यक्ष असर प¥यो । नेपाली शेयर बजारमा विदेशी लगानी नखोलिएकोले यसको प्रत्यक्ष असर नदेखिए पनि रेमिट्यान्समा आधारित अर्थतन्त्र भएकोले अप्रत्यक्ष असर भने पर्न गयो ।

(लेखक नेपाल स्थित नेप्सेका प्रबन्धक हुन् )