कानुनी कुरा

आउट अफ स्टाटसमा आई–४८५ एप्लिकेसन पेश गर्न मिल्छ ?

रमेश श्रेष्ठ
कानुन ब्यबसायी ,न्युयोर्क

कानूनी कुरामार्फत महत्वपूर्ण कानूनी सल्लाह सुझाव उपलब्ध् गराइदिनुभएकोमा अमेरिका स्थित विश्व संदेश मिडिया ग्रुपलाई धेरै धेरै धन्यवाद । मैले लगभग ६ महिनाअगाडि ग्रीनकार्ड होल्डरको नाताले मेरो श्रीमती (जो बी–२ भिजिटर भिसामा थिइन्)का लागि आई–१३० पेटिसन फायल गरेको थिएँ । गत महिना म युएस सिटिजन भएपछि युएससीआईएसलाई जानकारी गराई पेन्डिङ आई–१३० पेटिसनलाई इमिडियट रिलेटिभ अफ युएस सिटिजनमा परिवर्तन गरिसकेको छु । अहिले मेरो श्रीमतीको भिजिटर भिसा समाप्त भएको ५ महिना बितिसक्यो र हालको आउट अफ स्टाटस अवस्थामा मैले उसका लागि आई–४८५ एप्लिकेसन पेश गर्न मिल्छ कि मिल्दैन । यसबारे पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ ।
– सुरेन गिरी, भरमन्ट

विश्व सन्देश र विश्व न्युज डट कमबाट प्रकाशित हुने कानूनी स्तम्भको पाठक हुनुभएकोमा धन्यवाद । अध्यागमन कानूनअनुसार अमेरिकी नागरिकहरुको अति निकटको नातेदारहरु अर्थात् श्रीमान-श्रीमती, नाबालक छोरा छोरीहरु र बुबाआमाहरुलाई उक्त अमेरिकी नागरिकले ग्रीनकार्डका लागि निवेदन युएससीआईएसमा पेश गर्न सक्नेछन् । यी निकटको नातेदारहरुको आई–४९५ निवेदन पेश गरेका बेलामा वैध भिसा भए–नभए जे भए पनि यदि उनीहरु कानूनी तवरबाट भिसा प्राप्त गरी अध्यागमनका अधिकारीहरुले अमेरिका प्रवेश गरेका बेलामा इन्सपेक्सन गरी एड्मिसन गरेको खण्डमा उहाँहरुले अमेरिकी नागरिकको नजिकको नातेदार वा इमिडियट रिलेटिभको आधारमा स्थायी बासिन्दा अर्थात् पर्मानेन्ट रेसिडेन्ट प्राप्त गर्न सक्नुहुनेछ ।
तपाईंको केसमा तपाईंको श्रीमतीले बी–२ वा भिजिटर भिसा लिई अमेरिकामा प्रवेश गर्नुभएकोले उहाँ इन्सपेक्टेड र एड्मिटेड हुनुहुन्छ । त्यसैले अहिले भिसा गुजारेर बसिरहनुभए तापनि अमेरिकी नागरिकको श्रीमतीको हैसियतले उहाँको स्टाटस एड्जष्ट गरी ग्रीनकार्ड प्राप्त गर्न सक्नुहुनेछ । त्यसैले अहिले तपाईंले अमेरिकी नागरिकता प्राप्त गरी सो आई–१३० पेटिसनलाई प्रिफरेन्स रिलेटिभ (एफ२ए)बाट इमिडियट रिलेटिभ (आईआर)मा परिवर्तन गरिसक्नु भएकाले उक्त आई–३० पेटिसन स्वीकृत नभई पेन्डिङ वा विचाराधिन रहेको अवस्थामा भए पनि तपाईंको श्रीमतीले आई–४८५ एप्लिकेसन युएससीआईएसमा पेश गर्न सक्नुहुनेछ ।