समाचार

मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल नै भएको छैन

सुवास नेम्वाङ
उपनेता, नेकपा
सुवासचन्द्र नेम्वाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका बौद्धिक नेताका रुपमा चिनिन्छन् । थोरै बोल्ने तर तौलिएर बोल्ने उनको छवि निकै गज्जबको छ । पछिल्लो समय सरकार फेरबदल लगायत विषय निकै पेचिलो बनेको छ । यी लगायतका विषयमा केन्द्रित भएर नेम्वाङसँग मोहन बास्तोलाले गरेको कुराकानी—

मुलुकको राजनीति हेर्ने हो भने त्यति धेरै सहज देखिन्न । मुलुकमा दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार भए पनि जुन ढंगले अघि बढ्नुपर्ने हो । त्यसरी अघि बढ्न सकेन कि भन्ने पनि आलोचना छ । तपाईं नेकपाको संसदीय दलको उपनेता पनि हुनुहुन्छ । कसरी लिनुभएको छ ?
मेरो विचारमा एकतरिकाबाट हेर्ने हो मुलुक सहज ढंगले नै अघि बढेको देखिन्छ । हामीले संविधान निर्माण ग¥र्यौं, संविधानसभाबाट संविधान जारी ग¥यौं । त्यसको पहल र प्रयास गर्ने संयोग मलाई प्राप्त भयो । आम नेपाली जनताको सहयोग र सद्भावसँगै रहेको अथाह समर्थकले हामीले संविधानसभाबाटै संविधान जारी गर्न सक्यौँ । हामीले राम्रो संविधान बनायौँ । यो संविधान सम्झौता र समझदारीको दस्तावेज पनि हो । हामीले असल संविधान जारी गर्न सक्यौँ । त्यसमा सबैको साथ र समर्थनले पनि सहज बनायो ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको आधारमा सिङ्गो देशलाई एकजुट बनाउने संविधान हामीले बनायौँ । नेपालको संवैधानिक इतिहासमा जनताका लागि जनताले बनाएको संविधान हामीले बनायौँ । संविधानको स्रोत जनता भएको पहिलो संविधान हामीले बनायौँ । यो भन्दा अघिसम्म संविधानको स्रोत जनता नभए र शासक हुने गर्थे । यो संविधान बनाइसकेपछि हामी कार्यान्वयनको चरणमा गयौँ । खुशीको कुरा हामीले सफलतापूर्वक कार्यान्वयन गर्दै यो ठाउँसम्म आइपुग्न सफल भयौँ ।

भनेपछि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने खुशी हुने ठाउँ नै देखिन्छ होइन त ?
निश्चय पनि त्यत्रो धेरै वेखुशी हुनुपर्ने अवस्था देखिन्न । अहिलेसम्मको उपलब्धीलाई हेर्ने हो भने हामीले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न सफल भयौँ । जनतालाई मौलिक अधिकार सम्पन्न बनायौँ । संविधानसम्मत बनाउनुपर्ने कानुनहरुको निर्माण गर्ने काम सम्पन्न ग¥यौँ । र, संक्षेपमा संविधान निर्माणको कामलाई सम्पन्न गरेर यो ठाउँसम्म आएका छौँ ।
हामीले शान्ति प्रक्रियाकै सन्दर्भमा कुरा गर्ने हो भने पनि हामीले त्यहाँ पनि निकै ठूलो उपलब्धि हासिल गरेका छौँ । त्योसँगै हामीले केही बाँकी रहेका कामहरु जस्तै सत्य निरुपण र बेपत्ता पारिएकाहरुको आयोग बनाउनका लागि कानुनहरु निर्माण गर्ने काम सम्पन्न ग¥र्यौं । त्यसका लागि थोरै केही काम बाँकी छ । त्यसलाई पनि हामी सम्पन्न गर्न लागेका छौँ ।
यी सबै काम गर्दा सत्तापक्ष–प्रतिपक्ष हामी सबै एक ठाउँमा उभियौँ । हामीले यो कामबाट शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा छौँ है भन्ने सन्देश दिएका छौँ । जनतालाई हामीले जगमा उभिने बनाएपछि हामी अहिले समृद्ध नेपाल खुशी नेपालीको अभियानमा अघि बढेका छौँ । यसलाई व्यवहारमा अघि बढाउने गरी अघि बढिरहेका छौँ । त्यसैले म अहिले पनि भन्छु– हामीले केही सुखद र राम्रा काम गरेका छौँ ।

केही कमजोरी पनि होलान् नि ?
निश्चय रुपमा यो काममा केही कुरा ठीक भैरहेको छैन कि बेठिक दिशामा पो हामी अघि बढिरहेका छौँ कि ? भन्ने कोणबाट पनि प्रश्न उठिरहेका छन् । तर, मेरो आग्रह छ । हामीले त्यस्तो अवस्था आउन दिनुहुँदैन । सबै दल र दलका नेताहरु मिलेर देशलाई अघि बढाउनु पर्छ । हामीले संविधान बनाएर त्यसलाई कार्यान्वयन गरेका छौँ । त्यहाँ आवधिक निर्वाचनको व्यवस्था गरिएको छ । जनताको मन जितेर हामीले चाहेअनुसारको परिवर्तन देशमा गर्न सकौँ भनेर नै हामीले त्यो व्यवस्था राखेका हौँ । हामीले संविधान संशोधन गर्न सकिने लचिलो व्यवस्था राखेका छौँ । प्रतिपक्ष भनेको वेटिङ गभर्मेन्ट हो । आउने निर्वाचनमा उसले विजय हासिल गरेर ऊ सरकारमा आउन सक्छ । यो प्रणाली हामीले व्यवस्था गरेका छौँ । यो प्रणालीलाई सबल बनाएर अघि बढ्नुको अर्को विकल्प पनि हामीसँग छैन ।

संविधान कार्यान्वयनको चरणमा छ । नेपालमा स्थायी सरकार पनि छ । तर, यो सरकारबाट जनता त्यति धेरै सन्तुष्ट भएननन् भन्ने आलोचना पनि सुरु भएको छ । तपाईं आफैँ चाहिँ के भन्नुहुन्छ ?
अहिले नेपालमा कम्युनिष्ट नेतृत्वको सरकार छ । केही मित्रहरुले आलोचना गर्ने सन्दर्भमा भन्नुहुन्छ । नेपालमा कम्युनिष्ट शासन आयो । अधिनायकवाद आयो । तर, म उहाँहरुलाई विनम्रसाथ आग्रह गर्न चाहन्छु । उहाँहरुले भने जस्तो कम्युनिष्ट शासन आएको होइन र देश अधिनायकवादतर्फ पनि गएको होइन ।
अहिले मुलुकमा जनताको मन जितेर जनताको आर्शिवाद लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकार रहेको छ । दुई तिहाई नजिकको यो सरकार संविधान बमोजिम चलिरहेको छ । संविधानभन्दा यताउति यो सरकारले गर्न सक्दैन । मैले अघि पनि आवधिक निर्वाचनको कुरा गरेँ । हामीले जनताको मन जित्न सकेछौँ भने विगतका कमी–कमजोरीलाई सच्याएर अघि बढ्न सकेछौँ भने फेरि हामीले जनताको आशिर्वाद पाउँछौँ । यदि हामीले त्यो गर्न सकेनौँ भने जनताले प्रतिपक्षलाई चुन्न सक्ने अधिकार पनि छ । त्यसैले अहिले नै प्रतिपक्ष दलले हामीलाई सरकार चलाउने अधिकार सधैँका लागि हराउने भयो भनेर तर्सिनुपर्ने कारण छैन । सरकार बनाउने अधिकार अहिले पनि प्रतिपक्षलाई छ ।
नेकपाले गएको निर्वाचनमा जनताको मन जित्न सक्यो । सबैतिर ध्वस्त भएको र हामीले सरकारको नेतृत्व गर्दा ती कुरा सुधार गर्न सकिने प्रतिबद्धता हामीले जनतासामु ग¥यौँ । जनताले पत्याएर र हामीलाई दुई तिहाई नजिकको सरकार बनाउने अधिकार दिए । यो खुशीको कुरा हो । तर, हामीले त्यो पूरा गर्न सकेनौँ भने अर्को निर्वाचनमा जनताले अवश्य पत्याउने छैनन् । हामी अहिले ती आधारलाई पूरा गर्ने गरी अघि बढिरहेका छौँ । हामीले केही उपलब्धि पनि हासिल गरेका छौँ ।

अहिलेको अवस्थालाई हेर्ने हो भने जनताले विश्वास गरेअनुसारकै काम वर्तमान सरकारले गरेको छ भन्ने तपाईंको तर्क हो ?
मैले अघि पनि भनें हामीले जनअपेक्षाअनुरुप काम गर्न सकेनौँ भने अर्को निर्वाचनमा जनताले हामीलाई विश्वास गर्ने छैनन् । तर, अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने हामीले सकेसम्म जनअपेक्षा अनुरुपकै काम गर्न सफल भएका छौँ भन्ने लागेको छ । यो अवधिलाई हेर्ने हो भने हामीले छिमेकसँगको सम्बन्धलाई हामीले सुधार गरेका छौँ । विदेश सम्बन्धलाई पनि हामीले सुधार गरेका छौँ । हामीले मुलुकमा कहिले पनि नाकाबन्दी नहुने अवस्थामा मुलुकलाई पु¥याएका छौँ । यो पनि ठूलो उपलब्धि हो । म अहिले पनि भन्छु– जनताले भनेजस्तो सयमा सय त होइन केही कमजोरी हुन्छन् । तर, हामीले धेरै हदसम्म जनअपेक्षाअनुसार नै काम गर्न सकेका छौँ भन्ने लागेको छ ।

पछिल्लो सयम विभिन्न सञ्चारमाध्यमलाई नियाल्ने हो भने मन्त्रिमण्डलको पुनर्गठनले निकै ठूलो चर्चा पाएको छ । यो विषयमा केही छलफल पार्टीभित्र भएको छ ?
सबैभन्दा पहिला त जुन प्रणालीमा हामी अघि बढेका छौँ । त्यो प्रणालीमा मन्त्री फेरबदलको कुरा अचम्मको होइन । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले आफूलाई आवश्यक परेका बेलामा मन्त्री फेरबदल गर्न सक्ने अधिकार हुन्छ । उहाँले आफ्नो विशेषाधिकार प्रयोग गर्न सक्नु हुनेछ । त्यसैले आवश्यकताअनुसार मन्त्री फेरबदल गर्ने कुरा अस्वाभाविक होइन । मन्त्रीमण्डल फेरबदल गर्दा सरकार सञ्चालनमा सहज हुन्छ भन्ने त्यो गर्नुलाई अस्वाभाविक मान्ने कुरा पनि भएन । तर, अहिले त्यो विषयमा नेताहरुबीच छलफल भएको जस्तो मलाई लागेको छैन । यद्यपि सञ्चारमाध्यममा आएका समाचार पनि सरकार राम्रो होस्, गतिका साथ अघि बढोस् भन्ने मनसायबाटै आएको होला भन्ने लागेको छ । त्यसैले मैले सञ्चारमाध्यमका समाचारलाई पनि गलत रुपमा लिएको छैन ।