अमेरिका

ट्रम्पका आलोचक रिपब्लिकन सांसदले पार्टी छोडे

न्यूयोर्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर आलोचक रिपब्लिकन सांसद जष्टिन अमाशले पार्टी छोडेको घोषणा गरेका छन् । उनले अमेरिकी स्वतन्त्रता दिवसको दिन पारेर द वासिंटन पोष्टमा लेख लेख्दै पार्टीगत राजनीतिबाट स्वतन्त्र भएको घोषणा गरेका हुन् ।

अमाश सन् २०११ मा मिचिगन तेस्रो कंग्रेसनल डिष्ट्रिक्टबाट पहिलो पटक हाउस अफ रिप्रिजेन्टेटिभ निर्वाचित भएका थिए । त्यस यताका चार निर्वाचनमा उनी उक्त क्षेत्रबाट निर्वाचित भए । सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा रसियन हस्तक्षेपबारे विशेष काउन्सिलर रोबर्ट मुलरले प्रतिवेदन बुझाएपछि उनी ट्रम्पलाई महाभियोग लगाउनु पर्छ भन्ने एक्ला रिपब्लिकन सांसद थिए ।

मुलरले आफ्नो प्रतिवेदनमा ट्रम्पमा न्यायीक अनुसन्धानमा अवरोध (अब्सट्रक्सन अफ जष्टिस) गरेको संकेत गरेका छन् । साथै उनले बहालवाला राष्ट्रपतिलाई कुनै आरोप नलगाउने जष्टिस डिपार्टमेन्टको परम्परा अनुसार ट्रम्पले अपराध गरेको बनेर किटान नगरेको तर क्लिन चिट पनि दिन नसकेको अभिव्यक्ति दिएका थिए । त्यस लगत्तै अमाश ट्रम्पमाथि महाभियोगको पक्षमा थिए ।

ट्रम्पलाई कारबाही माग गरेपछि रिपब्लिकन संस्थापन उनीसँग रुष्ट बनेको थियो । राष्ट्रपतिका छोरा डोनाल्ड ट्रम्प जुनियरले आगामी निर्वाचनमा प्राइमरीमै हराइदिने चेतावनी दिएका थिए । पार्टीगत राजनीतिले व्यक्तिगत स्वतन्त्रतामै आघात पुर्याएको र यो अमेरिकी लोकतन्त्रकै लागि खतरा रहेको भन्दै उनले आफुलाई रिपब्लिकन पार्टीबाट अलग राखेको घोषणा गरेका छन् । उनले आम अमेरिकीलाई पनि आफ्नो स्वतन्त्रताको रक्षाका लागि पार्टी राजनीतिबाट माथि उठ्न आह्वान गरेको छन् । ४३५ सदस्सीय अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभमा अब उनी एक्ला स्वतन्त्र सांसद भएका छन् ।