समाचार

एन आर एनमा ४ जना भिड्ने पक्का ,कुमार पन्तको औपचारिक उम्मेदवारी घोषणा

विश्व न्युज संवाददाता
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएन)को ९औं विश्व सम्मेलन तथा महाधिवेशन आउँदो अक्टोबर १३ देखि १६ गतेसम्म काठमाडौंमा हुँदै छ। विदेशमा बस्ने नेपालीहरुको साझा संगठन एनआरएनले हरेक दुई दुई वर्षमा नयाँ नेतृत्व चयनका लागि विश्व सम्मेलन तथा महाधिवेशन गर्दै आएको छ । महाधिवेशनले भवन भट्ट नेतृत्वको वर्तमान कार्यसमितिलाई विस्थापन गरी नयाँ नेतृत्व चयन गर्नेछ । एनआरएनको विधानअनुसार प्रति एक हजार बराबर १०० नै प्रतिनिधि चयन हुनेछन् ।
राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन, विश्व सम्मेलनभन्दा बढीमा ६ महिना र कम्तीमा १ महिना अघि सम्पन्न गर्नुपर्ने व्यवस्था कारण अहिले विभिन्न देशमा धमाधम चुनाव भैरहेको छ । महाधिवेशनका लागि प्रतिनिधि छनोट हुने भएकाले एनआरएनका नेताहरु विभिन्न ठाउँमा पुग्न थालेका छन् । योसँगै अन्तर्राष्ट्रिय समन्वय परिषद्को चुनाव पनि लागेको छ ।
विभिन्न देशमा भएका राष्ट्रिय महाधिवेशन अन्तर्गत चुनावका बेला विभिन्न प्रश्नहरु उठ्न थालेपछि एनआरएन आईसीसीले नियमावलीमै लोकतान्त्रिक र निर्वाचनमा प्रयोग हुने विश्वव्यापी मान्यताको आधारमा परिषद्का सदस्य तथा पदाधिकारी निर्वाचित गर्नसक्ने व्यवस्था गर्ने व्यवस्था गरेको छ । अक्टोबरमा हुने विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका विषयमा प्रचारप्रसारका लागि एनआरएनका सम्भावित पदाधिकारीका उम्मेदवार दौडधुपमा लागेका हुन् ।

अध्यक्षमा चार आकांक्षी
एनआरएनको आगामी दुई वर्षका लागि हुने चुनावमा अहिलेसम्म वरिष्ठ उपाध्यक्ष कुमार पन्तले मात्र औपचारिक रुपमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । तर वर्तमान अध्यक्ष भवन भट्ट, अर्का उपाध्यक्ष कुल आचार्य र अघिल्लो चुनावमा पराजित उम्मेदवार जमुना गुरुङले समेत आन्तरिक तयारी तीव्र पारेका छन् । यी नेताहरुको यूरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न देशमा दौडधुप बाक्लिएको छ ।
औपचारिक रुपमा एनआरएनका वरिष्ठ उपाध्यक्ष पन्तले नवौं विश्व सम्मेलन तथा महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा यसअघि नै गरिसकेका छन् । केही हप्ताअघि उनले बेल्जियम पुगेर आफू अध्यक्ष पदको उम्मेदवार भएको घोषणा गरेका थिए । पन्तले उम्मेदवारी घोषणा मात्र गरेका छैनन् प्यानल बनाएर चुनावमा नजाने प्रतिबद्धता जनाउँदै सकभर सहमतिमै नेतृत्व लिने योजना बनाइरहेका छन् ।
वर्तमान अध्यक्ष भट्टले पनि आन्तरिक रुपमा उम्मेदवारीको तयारी गरेका छन् । यसअघि पन्तलाई अध्यक्ष बनाउनेगरी सहमति गरेर गुरुङविरुद्ध चुनाव लडेका भट्टले अहिले भने उम्मेदवार बन्ने योजना बनाएका स्रोतको दाबी छ । अन्य अध्यक्षहरुमध्ये धेरैले दुई–दुई कार्यकाल संस्थाको नेतृत्व गरेकाले आफूले पनि फेरि एक पटक एनआरएनको नेतृत्व गर्न पाउनुपर्ने भन्दै उनले आन्तरिक तयारी थालेका हुन् । त्यसैले आउँदो महाधिवेशनका लागि भट्ट बलियो उम्मेदवार हुन् ।
अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा भट्टसँग पराजित भएकी पूर्व अध्यक्ष शेष घलेकी पत्नी जमुनाले पनि यस पटक अध्यक्ष जित्नेगरी उम्मेदवार बन्ने आफू निकटका नेतालाई बताउन थालेकी छन् । उनले पति शेष घलेसँग विभिन्न देशमा भएका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेकी छन् । महिला नेतृत्वको कुरा उठाएर महिला प्रतिनिधिको मत तान्ने र विगतमा नमिलेका पक्षलाई समेत मिलाएर चुनावमा जाने तयारी उनको छ । पति शेष घलेमार्फत उनले विभिन्न पक्षसँग चुनाव लड्ने विषयमा छलफल गरिरहेकी छन् । तर आधिकारिक घोषणा भने उनले गरेकी छैनन् ।
एनआरएनमा छिटो उदाउने नेताका रुपमा परिचित वर्तमान उपाध्यक्ष कुल आचार्यले पनि आफूलाई अध्यक्षको उम्मेदवार भनिरहेका छन् । तर, उनले पनि औपचारिक रुपमा अध्यक्ष पदको उम्मेदवार घोषणा गरेका छैनन् । आचार्यले विभिन्न देशका कार्यक्रममा सक्रिय सहभागिता जनाउने र नेतृत्वको आलोचना गर्ने क्रम रोकिएको छैन । त्यसैले एनआरएनमा उदाएको शैलीमा अध्यक्ष बन्ने आकांक्षा उनमा पलाएको छ । उनको जोड सकभर यस पटक नभएमा अर्को पटकको अध्यक्ष हुनेछ । स्रोतका अनुसार उनले अर्को पटक अध्यक्ष आफू हुनेगरी जुनसुकै उम्मेदवारलाई पनि सघाउन सक्ने स्रोतको दाबी छ ।

समूहगत उम्मेदवारीको तयारी
एनआरएनको विधानले समूहगत उम्मेदवारी बन्देज लगाएको छ । तर, अनौपचारिक रुपमा समूहगत उम्मेदवारीको अभ्यास पहिल्यैदेखि चलिरहेको छ । यो पटक पनि समूहगत उम्मेदवारीको चर्चा–परिचर्चा शुरु भएको छ । विभिन्न पार्टीगत संघ–संगठन, क्षेत्रीय समूह र बिजनेश स्वार्थ समूहले एनआरएनमा समूहगत उम्मेदवारी दिने परम्परा भएको छ । औपचारिक रुपमा समूहगत उम्मेदवारी घोषणा भने गरिँदैन । गलत बाटोबाट प्यानल खडा गर्ने काम निरन्तर हुन थालेको छ ।
राजनीतिक रुपमा नेकपा निकट र गैरनेकपा भन्दै दुईवटा मोर्चा चुनावका लागि समूहगत उम्मेदवारी दिने तयारीमा छन् । राजनीतिक हिसाबले एनआरएनमा नेपाली काँग्रेस निकट मानिएकाहरु अल्पमतमा छन् । तर, उनीहरु राजनीतिक रुपमा निकै सक्रियसमेत देखिएका छन् । डेनमार्कको राजधानी कोपेनहेगनमा हालै सम्पन्न नेपाली काँग्रेसको भेलाको मुख्य एजेण्डासमेत एनआरएन चुनाव भएको थियो । भेलाले नेपाली काँग्रेस निकट रहेका उपाध्यक्ष कुल आचार्यसहित पदाधिकारीबाट सचिव जानकी गुरुङ र सहकोषाध्यक्ष सोम सापकोटा लगायतलाई आगामी चुनावमा विजय गराउने निर्णयसमेत गरेको स्रोतको दाबी छ ।
अन्य नेताहरुले खुलेर घोषणा नगरे पनि एनआरएनमा नेपाली काँग्रेस निकटहरुको नेतृत्व अहिले उपाध्यक्ष कुल आचार्यले गरिरहेका छन् भने नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व महासचिव डा. बद्री केसीले गरेका छन् । केसीलाई धेरै पदाधिकारीले साथ दिएका छन । आचार्य र केसीका समूहले एकले अर्कोको आलोचना गर्ने र विवाद गर्ने कुरा सामान्य बन्न थालेको छ । विवादको मूल जरो भने पन्तपछि अबको नेतृत्व कसको हुने भन्नेमा केन्द्रित छ । आचार्य र केसीबीच पन्तपछिको अध्यक्षका रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका छन् ।
आचार्यले अहिले अध्यक्षको उम्मेदवारी दिने भन्दा पनि अर्को कार्यकालमा अध्यक्ष पाउनुपर्ने शर्त राखेर पन्तलाई सहयोग गर्ने सम्भावना छ । एनआरएनको आउँदो कार्यकालको अध्यक्ष लगभग पन्त बन्ने निश्चित जस्तै भएको एक पूर्वअध्यक्षले बताएका छन् । घलेबाहेकका अधिकांश पूर्व अध्यक्षले यसअघिको चुनावका बेला भट्टको कार्यकालपछि पन्तलाई अध्यक्ष बनाउने भद्र सहमति गरेका थिए । आचार्यले काँग्रेसलाई एक ठाउँमा राख्न सकेको अवस्थामा र नेकपाभित्रको असन्तुष्ट समूहसँग तालमेल गर्न सकेमा आफू पन्तपछिको अध्यक्ष बन्ने अवस्था देखेका छन् भने केसीले आफू पूर्व अध्यक्षको सहयोगमा अध्यक्ष बन्ने योजनामा छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)बाहेकका मुलुकमा रहेका नेपाली मूलका विदेशी नागरिक र विभिन्न कारणले गएका नेपाली नागरिकको साझा संस्थाका रुपमा सन् २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएन)को स्थापना भएको हो । विश्वका झण्डै ८० देशमा एनआरएनको राष्ट्रिय समन्वय परिषद् छ । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । तर, नेपालीको यकिन तथ्याङ्क नेपाल सरकार र एनआरएन दुवैसँग छैन ।

प्रचारप्रसार सुरु
एनआरएनको आउँदो महाधिवेशनका लागि सम्भावित चारै जनाले दौडधुप तीव्र पारेका छन् । अध्यक्ष भट्ट पर्ख र हेरको रणनीतिमा छन् । विवाद बढेर आफूकहाँ अध्यक्ष पद फेरि आउँछ कि भन्ने योजना उनले बनाइरहेका छन् । राजनीतिक पहुँचका आधारमा नेपालमा व्यापार गर्न सकिने भएकाले एनआरएनको अध्यक्ष पद दोहो¥याउने उनको योजनालाई स्वाभाविक मान्न सकिएला । तर, उनलाई अघिल्लो महाधिवेशनमा पन्तसँग गरेको सहमतिले खुल्न दिएको छैन । अहिले उनी विभिन्न देश पुगेर आफ्नो अवस्था बुझिरहेका छन् ।
शेष घले पत्नी जमुना गुरुङले पनि आफ्नो तरिकाले विभिन्न देशको भ्रमण गरिरहेकी छन् । जित्नेगरी मात्र चुनाव लड्ने उनको योजना छ । पछिल्लो पटक नेपाली सोसल क्लब अर्थात् एनआरएन ओमनको कार्यक्रममा भने भट्ट, आचार्य र पन्त तीनै जनाले सहभागिता जनाएर प्रतिस्पर्धामा रहेको संकेत गरेका छन् । सबैले आआफ्नो पक्षमा मतदाता तान्ने प्रयास गरिरहेका छन् । एनआरएन ओमनको कार्यक्रमलाई सम्भावित अध्यक्ष पदका उम्मेदवारको प्रचारप्रसारका रुपमा समेत लिइएको छ । एनआरएन ओमान सोसियल क्लबको रुपमा दर्ता भएको छ ।
तर अमेरिका, यूके, युरोपबाट अन्य व्यक्तिले पनि उम्मेदवारी दिनसक्ने सम्भावना छ । पछिल्लो पटक अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीको सक्रियता पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।