मनोरञ्जन

प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिताको फाइनलमा

काठमाडौं । नेपाली मूलकी प्रतिष्ठा तृष राउत बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डको फाइनलमा प्रवेश गरेकी छन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् । उनी अहिले फाइनलमा प्रवेश गरेकी छन् ।
२० हजार आवेदनबाट उनी फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी छन् । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी विथ पर्पोज गरी तीन राउण्ड भएको थियो ।
राउतले पब्लिक भोटका कारण पब्लिसिटी क्वीनको उपाधि पनि जितेकी छन् ।मिस इग्ल्याण्डको फाइनल भने जुलाई ३१ र अगष्ट १ मा हुनेछ । अहिले उनको परिचयसहितको भिडियो युट्युबमा अपलोड भएको छ ।
नेपाली चेली प्रतिष्ठा तृष राउत बेलायतको अन्डरसटमा बस्छिन् ।उनका बाबु बेलायती सेनाका जागिरे थिए । प्रतिष्ठा भने हङकङमा जन्मेकी थिइन् । २५ वर्षीय प्रतिष्ठा आर्किटेक्ट डिजाइनमा रुचि राख्छिन् ।
१७ वर्षको उमेरदेखिनै मोडलिङमा लागेकी प्रतिष्ठाले इग्ल्याण्डमा नेपाली समुदायको प्रतिनिधित्व गरेकी छन् ।पढेर भन्दा परेर जानिन्छ भन्ने धारणा राख्ने उनले नेपाली समाजमा मेन्टल हेल्थको क्षेत्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् ।
इग्ल्याण्डमा मिस इङ्ल्याण्ड बिजेताले टाइटलसहित २५ हजार पाउण्ड पुरस्कार, मिस वल्र्डमा सहभागिता र विभिन्न च्यारिटी कार्यमा आबद्ध हुने मौका पाउने गर्छन् ।प्रतिष्ठाले भने यस पटक आफूले धेरै मेहनत गरेकाले उपाधि जित्ने आत्मविश्वास बढेको बताएकी छन् ।